देउवा भन्छन्– ‘केसीका माग के–के हुन् मलाई थाहा छैन’
धनगढी, कात्तिक २९
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सा शिक्षाको सुधारका यस पटक उठाएका मागबारे आफूलाई कुनै जानकारी नै नभएको प्रतिक्रिया दिएका छन् ।
पार्टी कार्यक्रमको लागि सुदूरपश्चिम आउनेक्रममा विहीबार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले राखेको जिज्ञासामा उनले यस्तो प्रक्रिया दिएका हन् । सभापति देउवाले डा. केसीले उठाएका मागबारे आफू अनभिज्ञ भएको बताए ।
डाक्टर केसीका अनसन र मागका बारेमा के भन्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘अनसन तोड्नुभयो, राम्रो कुरा हो । माग के राख्नुभएको थियो मलाई थाहा छैन ।’ उनले मेरै जिल्लामा गएर डा. केसी अनसन बसेपछि आफूई डर भने लागेको बताए ।
‘डा. केसी मेरै जिल्लामा गएर अनसन बसे,’ उनले भने, ‘जेहोस् अनसन तोडे राम्रै गरे ।’ डा. केसी विहीबार नै काठमाडौं फर्किनुभएको छ । डडेल्धुरामा कार्तिक १७ गतेदेखि अनशन बसेका केसीले नौं दिनपछि २६ गते अनशन स्थगित गरेका थिए ।