भारतले चीनको भूमि पनि आफ्नो नक्सामा राखेको खुलासा, मिलेर लड्न प्रस्ताव


 


काठमाडौं, २ मंसिर

भारतले भर्खरै जारी गरेको नयाँ नक्सामा चीनको भूमि समेत राखेको खुलासा भएको छ । नक्साको नेपालमा व्यापक विरोध भइरहेका बेला नेपाल भ्रमणमा आएको चिनियाँ प्रतिनिधिमण्डले आफ्नो भूमि पनि भारतले नक्सामा राखेको भन्दै आपत्ति जनाएका छन् ।

नेपाल भ्रमणमा रहेका चिनिया थिंक ट्यांक तथा प्राध्यापकहरुले सोमबार नेपाली पत्रकारहरुसँग भारतले चीन र पाकिस्तानको भूभागसमेत नयाँ नक्सामा हालेको बताए । कार्यक्रममा चाइना इस्टिच्युट अफ फुदान विश्वविद्यालयका निर्देशक तथा अन्तर्राष्ट्रिय मामिला विज्ञ प्राध्यापक झाङ वेइवेइले छिमेकी सबै मुलुकसँग भारतको सीमा समस्या रहेको बताए । भारतले भुटानबाहेक अरु सबै छिमेकीसँग सम्बन्ध सुधार गर्न नसकेको समेत उनको भनाइ थियो ।

चाइनिज एकेडेमी अफ इन्टरनेशन ट्रेड एण्ड इकोनोमिक ओअपरेशनका उप निर्देशक झु काइहुवाले नेपाली भूमि भारतले मिचेको बारेमा चीन जानकार रहेको बताए । उनले यो समस्या दुई देशबीच वार्ताबाट समाधान होस् भन्नेमा चीन रहेको र यसबारेमा चीनको अलग्गै अडान नरहेको बताए ।

उनले नेपाली भूभागमात्र होइन लद्दाखको नक्सामा चीन र पाकिस्तानको भूभाग समेत भारतले आफ्नोमा देखाएको बताए । भारतको सो नक्साका बारेमा चीनले आधिकारिक रुपमा आपत्ति जनाएर त्यसलाई अस्वीकार गरिसकेको समेत उनले जानकारी दिए ।

प्राध्यापक वेइवेइले दक्षिण एशियाको विकासका लागि चीनले अघि सारेको चीन नेपाल भारत त्रिदेशीय आर्थिक करिडोरबाट भारत हच्किएको बताए । उनले भारतलाई क्षेत्रीय आर्थिक साझेदारीमा जोड्न कठिन रहेकोसमेत टिप्पणी गरे ।

उनले भने ‘भारतको सबै छिमेकीसँग समस्या देखियो । हामीले चाइना नेपाल भारत आर्थिक कोरिडोरको प्रस्ताव ल्यायौं तर ऊ त्यसबाट हच्कियो । बिआरआईमा पनि ऊ हच्किएको छ । सीमा समस्याहरु शान्तिपूर्ण ढंगले समाधान हुनुपर्छ, यसमा चीनको फरक अडान हुन्न ।’

नेपाल भारत सिमा समस्याबारे चीनको विदेश मन्त्रालयले आफ्नो धारणा राखिसकेको भन्दै उनीहरुले लिपुलेकको बारेमा पनि चीन आवश्यकता परेमा छलफल गर्न तयार रहेको बताए । उनले नेपालको सार्वभौमिकतालाई भारतले सम्मान गर्नुपर्ने बताए ।

प्रकाशित मिति: २ मंसिर २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्