विश्व सीमासार क्षेत्रमा स्थानीय तहको मनपरी, कानूनविपरित होटल सञ्चालन


 



कैलाली, मंसिर ३
विश्व सीमासार क्षेत्रमा रहेको कैलालीको घोडाघोडी ताल क्षेत्रभित्र जथाभावी रुपमा होटल निर्माण गरिएको पाइएको छ । घोडाघोडी नगरपालिकाकै संरक्षणमा सो क्षेत्रमा होटल निर्माण गरिएको हो ।

पर्यटन प्रबद्र्धनको नाममा घोडाघोडी नगरपालिकाले नै व्यक्तिलाई ठेक्का होटल सञ्चालन गर्न अनुमति दिएको हो । सीमसार क्षेत्रको अस्तित्व नै समाप्त हुने गरी अन्य संरचनाहरु निर्माण भइरहेका बेला होटलसमेत निर्माण गरिन लागेको छ ।

घोडाघोडी नगरपालिका अन्तर्गतको वृहत घोडाघोडी पर्यटन वोर्डको आर्थिक सहयोगमा ईको तेल रिसोर्टका सञ्चालक डबल शाहले सो क्षेत्रमा होटल निर्माण गरिरहेका छन् । सो क्षेत्रमा होटललगायतका संरचना निर्माण गरिएपछि वन डिभिजन कार्यालय पहलमानपुरले पनि चासो देखाएको छ ।

वन डिभिजन कार्यालय पहलमानपुरका सहायक वन अधिकृत तथा निमिक्त वन डिभिजनल प्रमुख सुरेन्द्र कठायतले स्थानीय सरकारको आडमा केही व्यक्तिहरुले बलमिचाई गरिरहेको बताए । त्यसलाई रोक्न वन डिभिजनले नगरपािलकालाई पत्र पठाएपनि कुनै सुनुवाई नै भएन ।

सहायक वन अधिकृत कठायतले घोडाघोडी सीमसार क्षेत्रमा रहेका तालमा डुङ्गा सञ्चालन तथा कुनै प्रकारका संरचना निर्माण नगर्न पटक–पटक आग्रह गर्दा पनि अटेर गरिएको बताए । ‘स्थानिय सरकार निर्माण पछि विभिन्न स्थानामा वन क्षेत्रलाई प्रत्यक्ष नोक्सानी पुग्ने खालका कामहरु हुँदै आएका छन्,’ उनले भने, ‘स्थानीय सरकारको संरक्षणमा यस्ता कार्य हुनु राम्रो पक्ष होइन ।’

उनकाअनुसार वन डिभिजन कार्यालयले घोडाघोडी सीमसार क्षेत्रका तालमा डुङ्गा चलाउने र होटल निर्माण तथा सञ्चालन गर्ने भनि गरिएको सम्झौता खारेज गर्न भनेर पनि नगरपालिकालाई पत्र लेखेको थियो । तर, नगरपालिकाले सो पत्रको कुनै प्रतिक्रिया नै जनाएन ।

वन डिभिजन कार्यालयले २०७५ माघ १० गते नै घोडाघोडी नगरपालिकालाई सीमसार क्षेत्रभित्र डुङ्गा चलाउने र होटल सञ्चालन गर्ने सम्झौता रद्ध गर्न भन्दै पत्र पढाएको थियो । यस्तै, सोही मितिमा सीमसार क्षेत्र भित्र भइरहेका रामसार महासन्धी विपरीत डुङ्गा चलाउन र होटल सञ्चालन गर्ने कार्य तत्काल रोक्न भन्दै घोडाघोडी नगरपालिका १ को कार्यालय र घोडाघोडी समूदायीक वन उपभोक्ता समूहलाई समेत पत्र पठाएको सहायक वन अधिकृत कठायले जानकारी दिए ।

यति मात्रै नभई सो क्षेत्रमा रहेका विभिन्न तालहरु रामसार महासन्धी विपरीत हुने गरेर माछापालनको लागि पनि ठेक्कामा दिएको छ । उक्त ठेक्का रद्ध गर्न पनि वन डिभिजन कार्यालय पहलमानपुरले घोडाघोडी नगरपालिकालाई २०७५ माघ २१ गते पत्र पठाएको भएपनि अहिलेसम्म कुनै सुनुवाई नै भएको छैन ।

यस्ता प्रकारका मानवीय कार्यले विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडी सीमसार क्षेत्रको अस्तित्व नै समाप्त हुने खतरा बढेकोे छ । विभिन्न व्यक्ति, संघ÷संस्था तथा सरकारी निकायहरुले समेत सीमासार क्षेत्रमा प्रतिकुल असर पु¥याउने गरी आ–आफ्नै तरिकाले काम गर्न थालेपछि सीमसार क्षेत्रको अस्तित्वनै संकटमा पर्ने खतरा बढेको हो ।

रामसार क्षेत्रको महत्व तथा मूल्य मान्यता विपरित घोडाघोडी नगरपालिकाकै संरक्षणमा मनोमानी रुपमा रामसार क्षेत्र विभिन्न निर्माणका काम हुँदै आएको सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्रलयका सहायक वन अभिकृत भरत श्रेष्ठले बताए ।

मन्त्रालयसंग कुनै समन्वय नै नगरी नगरपालिकाले एकलप्टी रुपमा काम गरिरहेको र जसले यस क्षेत्रको जैविक विविधतामा ठूलो असर पार्ने निश्चित रहेको उनको भनाई छ । विश्व रामसार क्षेत्रमा सूचिकृत घोडाघोडी सिमसार क्षेत्र नेपालकै सबैभन्दा ठूलो क्षेत्रफमा रहेको तथा बढी सम्भावना बोकेकोे क्षेत्र पनि हो ।

‘अन्तर्राष्ट्रिय मूल्य मान्य र सिन्द्धान्त विपरीत हामीले यो क्षेत्रमा कुनै काम गर्न पाईदैन,’ वन अभिकृत श्रेष्ठले भने, ‘तर यो क्षेत्रमा अहिले अन्तराष्टिूय रामसार क्षेत्रको मूल्य मान्यता विपरी घोडाघोडी नगरपालिका तथा अन्य संघसंस्थाले काम गरिरहेका छन् ।’

सन् २००३ अगस्त १३ गते विश्व रामसार सूचीमा सूचिकृत गराउँदा नेपालको तर्फबाट समेत विभिन्न २१ बुँदे प्रतिवद्धता पत्रमा हस्ताक्षर गरिएको थियो । साथै प्रतिवद्धता विपरीत रामसार क्षेत्रमा प्रतिकुल पर्ने कार्य गरेको पाईएमा जुसुकै समयमा रामसार सूचिबाट हटाउने सक्ने समेत खतरा रहन्छ ।

अहिले घोडाघोडी रामसार क्षेत्रमा भइरहेका विभिन्न मानविय कार्यले प्रकृतीक स्वरुप विग्रनका साथै त्यो क्षेत्रमा बसोवास गर्ने चराचुरुङ्गी तथा अन्य जीवजन्तुको बासस्थानमा प्रतिकुल असर परिरहेको वन विज्ञहरुले बताएका छन् ।

प्रकाशित मिति: ३ मंसिर २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्