हतियारसहित पक्राउ परेका कांग्रेसका युवा नेता जेल चलान


 


काठमाडौं, मंसिर ३

हतियारसहित पक्राउ परेका नेपाली कांग्रेसका एक युवा नेता जेल चलान भएका छन् । तरुण दल नेपालगञ्जका नगर सभापति सन्दीपजङ्ग शाह पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

जिल्ला अदालत बाँकेले सोमबार शाहलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार शाहसागै पक्राउ परेका अन्य तीन जनालाई भने एक लाख ५० हजार धरौटी माग गरिएको छ ।

सरकारी वकिल कार्यालयले गत शुक्रबार नगर सभापति शाहसहित चार जनालाई हातहतियार तथा खरखजना मुद्दामा पाँच वर्ष सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

उनीहरुविरुद्धको मुद्दामा थुनछेक बहस सकिएपछि सोमबार अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

शाहसहित पक्राउ परेका माधव नेपाली, प्रितम थापा र यामबहादुर बुढामगरलाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

गत कात्तिक १४ गते राति साढे ८ बजे बाँकेको जानकी गाउँपालिका–६ गनापुरमा रहेको नमस्ते भिलेज रिसोर्टबाट अमेरिकन आधुनिक पेस्तोल र गोलीसहित तरुण दलका नगर सभापति शाहलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति: ३ मंसिर २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्