अन्ततः प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद पुनर्गठन, उपेन्द्र यादव पनि आउट !


 


काठमाडौं, कात्तिक ४

अन्ततः प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । केही मन्त्री हटाएर नयाँ अनुहार थपिएको र केहीको जिम्मेवारी हेरफेर गरिएको पुनर्गठित मन्त्रिपरिषदको नाम बुधबार साँझ राष्ट्रपति कार्यालय शीतल निवास पठाइएको छ । प्रधानमन्त्री ओलीले समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको मन्त्रालय समेत हेरफेर गरेका छन् । यादव हाल भारत भ्रमणमा छन् । स्वदेश नफर्किदै उनको मन्त्रालय हेरफेर गरिएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारी अनुसार नयाँ मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालयमा पठाइएको छ । तर, उनले नाम भने सार्वजनिक गरेनन् । उनका अनुसार बिहीबार विहान सपथ हुनेछ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले उपप्रधान तथा स्वास्थ्य मन्त्री यादवको मन्त्रालय भानुभक्त ढकाललाई दिएका छन् । ढकाल कानुनमन्त्री थिए । कानुन मन्त्रालय भने यादवलाई दिइनेछ ।

त्यस्तै रघुवीर महासेठलाई हटाएर भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा बसन्त नेम्वाङलाई जिम्मेवारी दिइएको छ । घनश्याम भुसाल कृषि, हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्ने टुंगो लागेको छ ।

त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा मोति दुगडको नाम सिफारिस भएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पार्वत गुरुङलाई पठाइएको छ ।

त्यसैगरी नयाँ मन्त्रिपरिषदमा लेखराज भट्ट, रामेश्वर राय यादव, विमला राई लगायत नयाँ अनुहारले भोलि सपथ लिनेछन् । उनीहरुको मन्त्रालय भने खुलिसकेको छैन ।

प्रकाशित मिति: ४ मंसिर २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्