ठग मेनपावरलाई तह लगाउने गोकर्ण विष्टलाई श्रम मन्त्रीबाट हटाएपछि चौतर्फी विरोध


 


काठमाडौं, कात्तिक ५

वैदेशिक रोजगारीको ठगी नियन्त्रण तथा शून्य लागतमा कामदार पठाउने कार्यको सुरुवात गरेर नेपाली कामदारको हितमा काम गरिरहेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई पदबाट हटाएपछि चौतर्फी विरोध भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद पुनर्गठन गर्दै गोकर्णसहित ९ मन्त्रीलाई हटाएका थिए । गोकर्णको ठाउँमा रामेश्वर रायलाई श्रम मन्त्रालयको जिम्मा दिइएको छ ।

विष्टले वैदेशिक राेजगारीमा शून्य लागतकाे अडान राखेपछि मनेपावर व्यवसायी तथा पार्टीभित्रै केही समूह उनसँग असन्तुष्ट थिए । उनी हट्दा सबैभन्दा बढी फाइदा ठग मेनपावरलाइ भएकाे छ ।

विष्टले मलेसिया र युएइमा शून्य लागतमा कामदार पठाउन सुरू गरेका थिए । शून्य लागत भनेकाे एक रूपैयाँ विना सित्तैमा काम गर्न विदेश जान पाउनु हाे । यसअघि नेपाली कामदारले एक लाखदेखि माथि मेनपावरलाइ तिर्ने गरेका थिए । जून कानुन विपरित थियाे ।

यस्तै विष्टले स्वदेशभित्र हरेक कामदारको हितका लागि सामाजिक सुरक्षा कोषको समेत सुरुवात गरेका थिए । जसका कारण श्रम गर्नेले न्यूनतम ज्याला पाएका थिए । गोकर्ण विष्ट मन्त्रिपरिषदको कार्यसम्पादनमा समेत २ नम्बरमा थिए । तर, उनी सबैलाई भाग पुर्याउने नेकपा पार्टीको निर्णयको सिकार बने । राम्रो काम गर्दागर्दै पनि हटाएपछि सामाजिक सन्जालमा चर्काे आलोचना र विरोध भएको छ । धेरैले उनीप्रति सहानुभूति प्रकट गरेका छन् ।

धेरैले मेलम्चीमा घोटाला गर्ने, काम नगर्ने प्रचण्डकी बुहारी विना मगरलाई केही पनि नगर्ने राम्रो काम गरेका ठग मेनपावरलाई तह लगाएका विष्टलाई हटाउने भन्दै आक्रोश पोखेका छन् ।

मन्त्रीबाट हटाइएपछि विष्टले काम गर्ने अवसर दिएकाेमा प्रधानमन्त्रीलाइ धन्यवाद दिएका छन् । आफूले वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाको पक्षमा इमान्दारीपूर्वक काम गरेको बताउँदै उनले नवनियुक्त मन्त्री रामेश्वर राय यादवलाई मन्त्रालय पुगेर बधाइ समेत दिएका छन् । पसिनाको मूल्य नपाएका श्रमिक र बेरोजगार युवाको पक्षमा इमान्दारीपूर्वक पनि काम गरेको उनकाे भनाइ छ ।

प्रकाशित मिति: ५ मंसिर २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्