बदनाम भएर बिदा हुँदै गर्दा रघुवीर महासेठले लेखे यस्तो मनछुने स्टाटस


 


काठमाडौं, मंसिर ५
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयबाट बिदा भएका निवर्तमान मन्त्री रघुवीर महासेठले सबैलाई धन्यवाद दिएका छन् । आफ्नो फेसबुकमा स्टाटस लेख्दै महासेठले धन्यवाद दिएका हुन् । मन्त्री हुुँदा महासेठले बदनामी कमाएका थिए । उनले लेखेको स्टाटस यस्तो छ ।

समृद्ध नेपाल, सुखी नेपाली अभियानका नेतृत्वकर्ता तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा मुलुक र जनताको पक्षमा २० महिना सेवा गर्ने अवसर प्राप्त गरेँ । मलाई विश्वास गरी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिनुभएकोमा सम्माननीय प्रधानमन्त्री ज्यूलाई हृदयदेखि नै हार्दिक धन्यवाद दिन चाहन्छु । यो २० महिनाको अवधिमा मुलुकले पूर्वाधार विकास र यातायात व्यवस्थाका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ ।

पानीजहाजदेखि रेल पूर्वाधारमा जग बसाउने काम गरिएको छ भने काठमाडौं उपत्यकालगायत देशभरको यातायात व्यवस्था व्यवस्थित बनाउन मुलुकलाई सुरुङ मार्गको युगमा प्रवेश गराउने कामसमेत अघि बढिसकेको छ । यो अवधिमा सडक र पुलमा अहिलेसम्मै हुन नसकेका कामहरु सम्पन्न भएका छन् । पूर्वाधार विकास रातोरात हुने विषय होइन ।

जुन उद्देश्यका साथ मेरो नेतृत्वमा भौतिक पूर्वाधार मन्त्रालयले योजना अगाडि बढाएको छ, त्यसको परिणाम नेपाली जनताले निकट भविष्यबाटै प्राप्त गर्न थाल्ने छन् । अब मेरो नेतृत्वमा अघि बढाइएका सम्पूर्ण योजनाहरु नवनियुक्त मन्त्री माननीय वसन्तकुमार नेम्वाङ ज्यूले पूरा गर्नुहुने विश्वास लिएको छु ।

राजनीतिमा पद प्राप्ति सामान्य कुरा हो । म नेकपाको कार्यकर्ताका रुपमा र व्यवस्थापिका संसद्को सदस्यका हैसियतले पार्टी र सरकारले लिएको लक्ष्य पूरा गर्ने गन्तव्यमा निरन्तर क्रियाशील भइरहने छु ।

फेरि एक पटक त्यो महत्वपूर्ण विश्वाससहितको जिम्मेवारीका लागि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई हार्दिक धन्यवाद दिँदै यस अवधिमा सहयोग गर्ने मन्त्रालयको सम्पूर्ण टिम, कर्मचारी साथीहरु, पार्टीका नेता कार्यकर्ता साथीहरु र आम शुभेच्छुकहरुलाई धन्यवाद दिन्छु । आगामी दिनमा पनि यहाँहरुको सहयोग र सद्भावको अपेक्षा गरी नै रहन्छु । धन्यवाद ।

प्रकाशित मिति: ५ मंसिर २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्