वरिष्ठ पत्रकार गुरुवाचार्यको निधन
काठमाडौं, मंसिर ८
वरिष्ठ पत्रकार विनय गुरुवाचार्यको निधन भएको छ । शुक्रबार आफ्नै निवास थापाथलीमा निधन भएका ८२ वर्षीय गुरुवाचार्यका शनिबार पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको छ ।
वर्षौसम्म राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चार माध्यममा काम गरेका गुरुवाचार्य लामो समयदेखि पार्किन्स सम्बन्धी समस्याबाट पीडित थिए । अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेस (एपी) को नेपाल प्रतिनिधिका रुपमा करिब चार दशक काम गरेका उनी जापानको दैनिक पत्रिका ‘माइनिची सिम्बुन’मा समेत आवद्ध थिए ।
उनी नेपाल वातावरण पत्रकार समूह (नेवापस)का पूर्व अध्यक्षसमेत थिए । पूर्वअध्यक्षको निधनमा शोक व्यक्त गर्न वातावरण पत्रकार समूहले आज आइतबारदेखि तीन दिनसम्म समूह सचिवालय भनिमण्ड, ललितपुरमा शोक पुस्तिका राख्ने भएको छ ।