क्षेत्रफल घटेपनि सुदूरपश्चिममा धान उत्पादनमा बृद्धि




धनगढी, मंसिर १२
सुदूरपश्चिममा गत आर्थिक वर्ष ०७५/७६ को तुलनामा यस वर्ष धान उत्पादनमा बृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७६÷७६ मा गत वर्षको तुलनामा ६.०१ प्रतिशतले धान उत्पादनमा बृद्धि भएको हो ।

धान खेतीको क्षेत्रफल घटेको र गरिमा धान नफलेपनि धान उत्पादनमा भने यस वर्ष गिरावट नआएको प्रदेश कृषि निर्देशनालय दिपालयलले जनाएको छ ।

निर्देशनालयमाअनुसार चालू आर्थिक वर्ष २०७६/७७ मा गत आर्थिक वर्ष ३०७५/७६ भन्दा ३७ हजार एक सय ७६ मेट्रिक टनले बढी धान उत्पादन भएको छ । यो वृद्धिदर ६.०१ प्रतिशत हो ।

आर्थिक वर्ष २०७५/७६ मा एक लाख ८१ हजार तीन सय ९८ हेक्टरमा धान खेती गरिएकोमा छ लाख १० हजार तीन सय २८ मेट्रिक टन धान उत्पादन भएको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा एक लाख ८१ हजार तीन सय ३७ हेक्टरमा धान खेती गरिएकोमा छ लाख ४७ हजार पाँच सय चार दशमलब ६९ मेट्रिक टन धान उत्पादन भएको छ । यो वर्ष गत वर्षको धान खेती गरिएको क्षेत्रफलको तुलनामा ६१ हेक्टर क्षेत्रफल कम हो ।

प्रदेश कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीकाअनुसार यदि यो वर्ष गरिमा धान औषतमा फलेको भए धान उत्पादन ४० हजार मेट्रिकटन बढी हुने थियो ।

उहाँले किसानहरुले उन्नत र हाईब्रेड विउँहरुको प्रयोग गर्नु, सिँचाईको सुविधा बढनु, मलको प्रयोग, औषधि, अनुदानलगायत विविध कारणले धान उत्पादनमा बृद्धि भएको बताउनुभयो । निर्देशनालयकाअनुसार प्रदेशका नौ वटा जिल्लामध्ये चार जिल्लामा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन घटेको छ ।

प्रदेशको बझाङ, अछाम र बाजुरामा धान उत्पादन घटेको जनाइएको छ । ती जिल्लामा वर्षा समयमै नभएका कारण धान उत्पादनमा कमी भएको निर्देशनालयले जनाएको छ । गरिमा जातको हाइव्रीड धानमा वाला नलागेको हुँदा दुई हजार आठ सय ९५ मेट्रिक टन उत्पादनमा कमी आएको निर्देशनालयले जनाएको छ ।

प्रदेश कृषि निर्देशनालयले दिएको विवरण अनुसार यस वर्ष पनि सबैभन्दा धान उत्पादन कैलाली जिल्लामा भएको छ । कैलालीमा चालु आर्थिक वर्षमा गरिमा धानका कारण दुई हजार पाँच सय ९९ दशमलब ७८ मेट्रिक टन घटेको भएपनि २६ हजार चार सय दशमलब दुई मेट्रिक टन उत्पादन बढेको जनाइएको छ ।

कैलालीमा आर्थिक वर्ष २०७५/७६ मा ७१ हजार सात सय १० हेक्टरमा धान खेती गरिएकोमा दुई लाख ९३ हजार छ सय ९५ मेट्रिक टन धान उत्पादन भएको थियो भने चालु आर्थिक वर्षमा तीन लाख २० हजार ९५ दशमलब दुई मेट्रिक टन उत्पादन भएको छ ।

यस्तै, कञ्चनपुरमा आर्थिक वर्ष २०७५÷७६ मा ४८ हजार चार सय ९६ हेक्टरमा धान खेती गरिएकोमा एक लाख ७२ हजार तीन सय ११ मेट्रिक टन धान उत्पादन भएको थियो भने चालु आर्थिक वर्षमा ४८ हजार चार सय ७५ हेक्टरमा धान खेती गरिदा एक लाख ८८ हजार सात सय ५७ मेट्रिक टन धान उत्पादन भएको जनाइएको छ ।

गरिमा धानका कारण दुई सय ९५ दशमलब २३ मेट्रिक टन धान उत्पादन हुन नसकेको निर्दशनालयले जनाएको छ ।
डोटी जिल्लामा गत आर्थिक वर्ष २०७५÷७६ मा २६ हजार ६ सय ७५ मेट्रिक टन धान उत्पादन भएकोमा बढेर यस वर्ष २९ हजार नौ सय ८८ मेट्रिक टन धान उत्पादन भएको छ ।

डडेल्धुरामा गत आर्थिक वर्ष ०७५/७६ मा दुई लाख ३० हजार तीन सय ६० मेट्रिकटन उत्पादन भएकोमा चालु आर्थिक वर्षमा १९ हजार सात सय ६३ मेट्रिक टन धान उत्पादन भएको जनाएको छ ।

यस्तै, बैतडीमा गत आर्थिक वर्ष २०७५/७६ मा १६ हजार नौ सय मेट्रिक टन धान उत्पादन भएकोमा चालु आर्थिक वर्षमा १७ हजार एक सय ९० मेट्रिक टन धान उत्पादन भएको छ ।

दार्चुलामा गत आर्थिक वर्ष ०७५/७६ मा १० हजार चार सय ३४ मेट्रिक टन धान उत्पादन भएकोमा चालु आर्थिक वर्षमा १० हजार पाँच सय २८ मेट्रिक टन उत्पादन भएको छ ।

बझाङमा गत आर्थिक वर्ष २०७५÷७६ मा १४ हजार चार सय ८० मेट्रिक टन धान उत्पादन भएकोमा चालु आर्थिक वर्षमा १३ हजार आठ सय ६५ मेट्रिक टन धान उत्पादन भएको छ । यस्तै बाजुरामा गत आर्थिक वर्ष ०७५/७६ मा १३ हजार आठ सय मेट्रिक टन धान उत्पादन भएकोमा चालु आर्थिक वर्षमा १२ हजार पाँच सय मेट्रिकटन धान उत्पादन भएको छ ।

यस्तै, अछाममा गत आर्थिक वर्ष २०७५÷०७६ मा ३८ हजार नौ सय ९७ मेट्रिक टन धान उत्पादन भएकोमा चालु आर्थिक वर्षमा घटेर ३४ हजार आठ सय १८ मेट्रिकटन धान मात्रै उत्पादन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News