प्रधानमन्त्रीको स्वास्थ्यमा संक्रमणको जोखिम कायमै, चिकित्सकद्वारा उच्च सतर्कता
काठमाडौं, मंसिर १३
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आइरहेको चिकित्सकले जनाएका छन् । एपेन्डिसाइसिटससंगै पेटको संक्रमण भएपछि प्रधानमन्त्री ओलीको मंगलबार शल्यक्रिया गरिएको थियो ।
शल्यक्रिया गरिएको घाउमा थप संक्रमणको जोखिम रहेको चिकित्सकले जनाएका छन् । संक्रमण नियन्त्रणमा राख्न हाल बोर्ड स्प्रेक्टम एन्टिबायोटिक अर्थात कुनैपनि प्रकारको संक्रमण रोक्न प्रभावकारी हुने औषधि प्रयोग गरिएको छ ।
चिकित्सकले थप संक्रमणको जोखिम कायमै रहेको भन्दै उच्च सतर्कता अपनाएका छन् । प्रधानमन्त्री ओलीलाई असहज नहोस् भनेर अक्सिजन पनि दिइराखिइएको छ । खानाको रुपमा प्रधानमन्त्रीलाई तरल पदार्थ मात्रै दिइएको उपचारमा संलग्न चिकित्सकले जनाएको छन् ।
ठोस आहारा खान उनलाई अझै केही दिन लाग्ने जनाइएको छ । प्रधानमन्त्री ओलीलाई विहीकार ह्वील चियरमै राखेर आईसीयूमै केही समय घुमाइएको थियो ।
साथै प्रधानमन्त्री ओलीलाई डायलासिसको आवश्यकता पनि थप बढेको छ । चिकित्सकको अनुसार प्रधानमन्त्रीलाई आज भोलि नै पुनः डायलसिस गर्नुपर्ने स्थिति छ ।