धरान ७ मा नेकपाबाट निर्वाचित वडाध्यक्षको आक्रामक सुरुआत


 


धरान, मंसिर १७
एक मतको महत्व कति हुन्छ भन्ने यतिबेला धरान ७ का वडाध्यक्ष जीवनराज सुवेदीलाई राम्ररी अनुभव भइरहेको छ । विपक्षीभन्दा एक मत मात्रै बढी ल्याएर जितेका वडाध्यक्षले एक मतको जीतलाई यादगार बनाउने संकेत दिएका छन् ।

उनले पदभार ग्रहण गर्ने वित्तिकै विपन्न र दलित लक्षित सुविधाको प्याकेज घोषणा गरेका छन् । पदभार ग्रहण गरेपछि वडा नं ७ ले विपन्न दलित परिवारलाई विद्युतीय चुलामा ५० प्रतिशत अनुदान दिने निर्णय गरेको छ ।

यस्तै, विपन्नवर्गलाई खानेपानी मिटर जडानमा पनि ५० प्रतिशत अनुदान दिने निर्णय गरिएको नवनिर्वाचित अध्यक्ष सुवेदीले जानकारी दिए । ‘दलित परिवारलाई विद्युतीय चुलामा र विपन्नवर्गलाई खानेपानी मिटर जडानमा ५० प्रतिशत अनुदान दिने निर्णय गरेका छौं,’ उनले भने ।

धरान उपमहानगरपालिका वडा नं ७ का नवनिर्वाचित वडाध्यक्ष जीवनराज सुवेदीले पदभार ग्रहण गरेका छन् । उनले एक कार्यक्रमबीच मंगलबार वडा कार्यालयमा पदभार ग्रहण गरेका हुन् । कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदी, प्रमुख प्रशासकीय अधिकृत विनोद पोख्रेलको उपस्थितिमा उनले पदभार ग्रहण गरेका थिए ।

प्रकाशित मिति: १७ मंसिर २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्