काँग्रेस महाधिवेशन एक वर्ष पछि धकेलिने


 


विराटनगर, मंसिर २३
शेरबहादुर देउवाको नेतृत्व पूर्णतः असफल बनिसकेको भन्दै नेतृत्व परिवर्तनको माग काँग्रेसभित्र चर्केको छ । तर, काँग्रेस महाधिवेशन भने एक वर्ष अझै पछि धकेलिने जानकारी महामन्त्री सशांक कोइरालाले दिनुभएको छ ।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री कोइरालाले महाधिवेशन एक वर्ष पछि धकेलिने बताउनु भएको हो । उहाँले उपनिर्वाचनमा देखिएको परिणामबाट पार्टी बलियो भयो भन्न सकिने अवस्था नरहेको भन्दै निर्वाचनमा विभिन्न समूहको सहयोग रहेको चर्चा गर्नुभयो ।

नेपाली काँग्रेसले सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको दाबी गर्र्दै उहाँले पार्टीले सरकारसँग सहमतिबाटै अगाडि बढ्न चाहेकोमा जोड दिनुभयो । महामन्त्री कोइरालाले द्वन्द्वबाट कसैलाई पनि फाइदा नहुने भएकाले नै नेपाली काँग्रेसले सहमतिको बाटो पहिल्याएको बताउँदै संविधान र सङ्घीयताको रक्षा गर्न सबै दल एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले आफू धर्म निरपेक्ष तथा सापेक्षभन्दा पनि धर्म स्वतन्त्र हुनुपर्छ भन्ने पक्षमा अडिग रहेको प्रस्ट पार्दै सरकारले दुई तिहाइ बहुमतको जस्तो कार्य गर्न नसकेको टिप्पणी गर्नुभयो ।

प्रकाशित मिति: २३ मंसिर २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्