आगलागीबाट २६ लाख बराबरको क्षति


 


इलाम, मंसिर २३
इलाम श्रीअन्तुको होमस्टेमा आज दिउँसो आगलागी भएको छ ।

विद्युत् सर्ट भएर आगलागी हुँदा रु २६ लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

सूर्योदय नगरपालिका– ५ अन्तुका मानवीर तामाङले सञ्चालन गरेको घरवासमा आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको हो । आगलागीबाट तामाङको काठ र सिमेन्टले बनेको दुईतले घरको माथिल्लो तला जलेर नष्ट भएको छ । आगलागीबाट चार तोला सुन, पाँच लाख नगद, लत्ताकपडा, भाडा वर्तन, फर्निचर, खाद्य सामग्री जलेर नष्ट भएका बताइएको छ ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक रमेश राईका अनुसार काठबाट बनाइएको घर भएकाले तत्काल आगो नियन्त्रणमा लिन समस्या भएको थियो । आगलागी स्थानीयवासीको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएका छन् ।

प्रकाशित मिति: २३ मंसिर २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्