कोठा न्यानो बनाउन खोज्दा आमा–छोराको मृत्यु
काठमाडौं–चिसोको बेला कोठा न्यायो बनाउन मकल बालेर सुतेका आमा–छोराको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका–८ सुन्दरबस्तीमा ३६ वर्षीया शर्मिला रञ्जितकार र उनको दुई महिने छोराको सुतेकै अवस्थामा मृत्यु भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी छेदीलाल कामतीले जानकारी दिए ।
अक्सिजन अभावका कारण निसास्सिएर उनीहरुको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए । यद्यपि मृत्युको वास्तविक कारण पत्ता लगाउन घटनास्थलमा चिकित्सकको टोली पुगेको छ ।
भेन्टिलेसन पनि नभएको साँघुरो कोठामा उनीहरु तावामा कोइला बालेर सुतेका थिए । विहान श्रीमानले उठाउँदा नउठेपछि उनीहरुको मृत्यु भएको थाहा भएको थियो । आमा–छोरा खाटमा तथा श्रीमान नवराज रञ्जितकार भुइँमै ओछ्यान लगाएर सुतेका थिए ।
बच्चालाई तेल लगाउन भन्दै सोमबार बिहान करिब तीन बजेतिर नवराज उठेर श्रीमतीलाई बोलाउन खोज्दा नबोलेपछि प्रहरीलाई खबर गरेका थिए ।