माया विक हत्या प्रकरण : मुद्दाको पेशी नौं पटकसम्म स्थगित



धनगढी, पुस १
डेढ वर्ष अघि बलात्कार गरेर हत्या गरिएकी कैलालीको गौरीगंगा नगरपालिकाकी २१ वर्षीया माया विकको मुद्दाको पेशी नौ पटक सरिसकेको छ । एक पटक कैलाली जिल्ला अदालतबाट आदेशसमेत जारी भएको छ ।

कैलाली जिल्ला अदालतका अनुसार २०७५ कार्तिक १५ गते पहिलो पेशी तोकिएकोमा सरकारी वकिल कार्यालयबाटै स्थगित भएपछि त्यसपछि पनि निरन्तर स्थगित हुँदै आएको छ । पहिलो पटक सरकारी वकिल कार्यालयबाट वयान, कागजपत्रलगायत नक्कल कागज ल्याउन बाँकी रहेकाले स्थगित गरिएको कैलाली जिल्ला अदालतले जनाएको छ ।

त्यसपछि अदालतले मंसिर १९ गतेको पेशी तोक्यो तरपनि पुनः सरकारी वकिलबाटै स्थगित गर्न माग गरियो । पछिल्लो पटक ‘नक्कल मिसिल उच्च अदालतको सरकारी वकिल कार्यालय रहेको’ कारण देखाउँदै स्थगित गरिएको थियो ।

त्यसपछि अदालतले पुस २५ गते तेस्रो पटक पेशी तोक्दा समेत सरकारी वकिल कार्यालयले पुनः मिसिल नआएको भन्दै स्थगित गराउन आग्रह गरेको अदालतका श्रेष्तेदार भुवन गिरीले बताउनुभयो । कार्तिकदेखि माघसम्म सरकारी वकिल कार्यालयबाटै स्थगितको अनुरोध भएपनि फागुन २३ गतेको पेशीमा प्रतिवादीको कानुन व्यवासायीबाट स्थगितको अनुरोध गएको छ ।

प्रतिवादीको कानुन व्यवासायीले निवेदनमा ‘मिसिल अध्ययन गर्न नपाएको’ उल्लेख गर्दै पेशी स्थगित गर्न माग गर्यो । कैलाली जिल्ला अदालतले चैत २१ गतेको पेशी तोक्यो तर, सो दिन इजलास नबसेरै स्थगित भएको छ । चैत २१ पछि मुद्दाको अर्को पेशी जेठ १६ गते तोकिएको थियो ।

सो दिन कानुन व्यवसायीले आफू दिपायल गएको भन्दै स्थगितको अनुरोध गरेका थिए । प्रतिवादीको आग्रहमा स्थगित गर्दै अदालतले असार १२ गते पनि प्रतिवादी कानुन व्यवासायीकै आग्रहमा स्थगित भएको कैलाली जिल्ला अदालतले जनाएको छ । भदौ ५ गते पनि प्रतिवादी कानुन व्यवसायीकै आग्रहबाट स्थगित गरिएपछि असोज ७ गते बहस नोट पेश गरिएको थियो ।

जिल्ला न्यायधिश कृष्णप्रसाद शर्माको इजलासले असोज ७ गते ‘कल डिटेल झिकाउन’ आदेश जारी गरेको थियो । सोही आधारमा कैलाली जिल्ला अदालतले नेपाल टेलिकमलाई ‘कल डिटेल उपलब्ध गराईदिन’ भनी पत्र पठाएपनि प्रतिउत्तर पाएको छैन । अदालतका श्रेष्तेदार गिरीले नेपाल टेलिकमले प्रहरी बाहेक अन्यलाई सो विवरण उपलब्ध नगराउने भनेपछि सोही पत्र प्रहरी कार्यालयमा पठाइएको बताउनुभयो ।

‘कल डिटेल’ नआएपछि अदालतले फेरि गएको कार्तिक ४ गते पुनः कैलाली प्रहरीलाई ‘कल डिटेल’ उपलब्ध गराईदिन भनेर ताकेता गरेको छ । तर, ताकेता गरेको दुई महिना पुग्नै लाग्दा पनि अदालतलाई ‘कल डिटेल’ प्राप्त भएको छैन । श्रेष्तेदार गिरीले ‘कल डिटेल’ प्राप्त नहुँदासम्म अर्को पेशी चढ्ने बताउनुभयो ।

माया विकको बलात्कार तथा हत्यामा संलग्न भएको आरोपमा गौरीगंगा वडा नम्बर ११, शिवपुरका ३० वर्षीय गणेश बडुवाल, २७ वर्षीय मनोज बोगटी, २० वर्षीय भूवन खाती, १९ वर्षका तपेन्द्र बोगटी र सोही नगरपालिका एैठाका २१ वर्षका सुरज चौधरी कारागारमा छन् । उनीहरुलाई प्रहरीले घटना भएको केही दिनपछि पक्राउ गरि सार्वजनिक गरेको थियो ।

२०७५ साल असार १२ गते बेपत्ता भएकी गौरीगंगा नगरपालिका वडा नम्बर ११ का माया विक १५ गते चपरथली सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन् ।

असार ५ गते नगरपालिकाबाट घरधुरी सर्वेक्षण कार्यका लागि एक महिनाको करार सेवामा काम गर्न थालेकी माया बेपत्ता भएको तीन दिनपछि सो सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन् । पक्राउ परेकामध्ये गणेश मायासंगै काम गर्ने व्यक्ति हुन् । उनले घटना हुनुअघि असार ८ गते यौन सम्पर्कको प्रस्ताव गर्दा मायाले इन्कार गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News