मात्रिका यादवले पार्टी बैठकमै ओली र प्रचण्डलाई मन्त्रीबाट हटाएर न्याय गर्नुभो भनेपछि…


 


काठमाडौं, पुस २
मात्रिका यादवले आफूलाई मन्त्रीबाट हटाएकोमा प्रधानमन्त्री केपी ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई धन्यवाद दिएका छन् । आइतबारदेखि जारी नेकपाको स्थायी समितिमा बुधबार बोल्दै उनले मन्त्रीबाट हटाएर प्रधानमन्त्री र पार्टी अध्यक्षले आफूमाथि ‘न्याय’ गरेको भन्दै व्यङ्ग गरे ।

यादवले आफूलाई पहिलेदेखि नै मन्त्रीपदमा बस्न मन नभएको र हटाएर प्रधानमन्त्री र पार्टी अध्यक्षले धेरै राम्रो गरेको बताए । मंसिर ४ गते भएको मन्त्रिपरिषद् पुनगर्ठनमा तत्कालीन उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री यादवसहित पाँच मन्त्रीको पद गएको थियो ।

अध्यक्षद्वयले पेस गरेको प्रतिवेदनमाथि बुधवार आफ्नो धारणा राख्दै उनले प्रचण्डपथ ब्युत्याउन पनि माग गरे । ‘पार्टीको मार्गदर्शक सिद्धान्त प्रचण्डपथ नहुँदा नेकपामा भद्रगोल भएको छ,’ उनले बैठकमा भने ।

तत्कालीन एमालेको जनताको बहुदलीय जनवाद र माओवादीको २१औं शताब्दीको जनवाद थाती राखेर नेकपाले ‘पार्टीको रणनीतिक लक्ष्य र आधाभूत कार्यक्रम वैज्ञानिक समाजवाद र तत्कालीन कार्यक्रम समाजवादउन्मुख जनताको जनवाद’ बनाएकै बेला नेता यादवले भने प्रचण्डपथ ब्युताउँन माग गरेका हुन् ।

तत्कालीन माओवादीले २०५७ मा प्रचण्डपथलाई मार्गदर्शक सिद्धान्त बनाएको थियो । ०६५ मा तत्कालीन एकता केन्द्रसँग पार्टी एकता गरेपछि यसलाई पथ प्रदर्शक सिद्धान्तबाट स्थगित गरेको थियो ।

यादवले पार्टी नेतृत्वमा कहिलेकाहीं आत्मकेन्द्रित व्यक्तिवाद हावी हुने गरेको भन्दै त्यस्तो सोचले आफैं विचारको विकास गर्न नसक्ने र अरुले गरेको विकासलाई पनि स्वीकार गर्न नसक्ने बताए ।

प्रकाशित मिति: २ पुस २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्