दुई श्रीमती कमाउन विदेश, श्रीमान घर कुर्दै



सिन्धुपाल्चोक, पुष ४
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ सेलाङका ३६ वर्षीय भीमबहादुर लोप्चनको १७ वर्षको कलिलै उमेरमा छिमेकी राममायासँग बिहे भयो । शुरूका केही दिन त हाँसखेलमै बिते । वर्ष बित्दै गयो तर बच्चा बसेन । उनीहरूमा एक खालको तनाव पैदाभयो ।

उनीहरूका धेरै प्रयास असफल भए ।यसैगरी झण्डै १० वर्ष बिताए । एकदिन राममायाले कठोर निर्णय लिएर अर्को बिहे गर्न भीमबहादुरलाई सुल्झाइन् । उनले पनि सहजै स्वीकारे ।

अन्ततः राममायाले आफ्नै श्रीमान्को बिहे बहिनी मोतिमायासँग गराइन् । बिहे गराउनुको एउटै कारण थियो बच्चा जन्माउनु । बच्चा भयो भने त्यो परिवारमा छुट्टै खुशी आउँथ्यो । ३ वर्षअघि एउटा छुट्टै संयोग बन्यो । दुवैको केही महिनाको अन्तरालमै गर्भ बसेपछि भीमबहादुर तीनछक परे । ३ वर्ष अघि राममाया र मोतीमायाले ८ महिनाको अन्तरालमा १र१ छोरा जन्माए ।

‘बच्चा हुँदैन भनेर बूढीले बहिनीसँग बिहे गराइदिइन्, आँखिर ८ महिनाको फरकमा बच्चा पायो,’ मन्द मुस्कानसहित भीमबहादुर त्यो क्षण सम्झिए । छोरा सुदीप र प्रवीन अहिले नजिकैको स्कूलमा कक्षा एकमा पढ्छन् । छोराहरू श्रीमानसँग छाडेर दुवै श्रीमती वैदेशिक रोजगारीका लागि अहिले कुवेतमा छन् । निःशुल्क भिसामा उनीहरू २ वर्ष अघि विदेश गएका हुन् । दुवैजना घरको काम गर्छन् ।

भीमबहादुर दुई छोराको रेखदेख गरी घर कुरुवा बनेका छन् । आफू पनि विदेश जाने चाहना थियो तर भूकम्पले घर भत्काएकाले निर्माणको चरणमा भएर नगएको उनले सुनाए । भीमबहादुरका श्रीमतीद्वयले मासिक १५ देखि २० हजार रुपैयाँ पठाउने गर्छन् । उनले सबै पैसा बैंकमा राखेका छन् ।

‘त्यसैबाट उनले ३ लाख बैंकमा जोडेको छ, यसपालि आउँदैछन्, त्यो पैसाले चौतारामा जग्गा किन्ने भनेका छन्,’ उनले भने । भीमबहादुरको मात्रै होइन, धेरै महिला वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । श्रीमान् घर कुरेर बस्छन् । उनका साखै भाइ पेम्बाको पनि मेखामाई र रीतामाई गरी २ श्रीमती छन् । उनीहरू पनि दिदीबहिनी हुन् । जेठी अहिले विदेशमै छिन् । जेठीकी दुई छोरा भए । कान्छीपट्टिबाट जन्मेको छैन ।

१० वर्षअघि ओमन, त्यसपछि झण्डै २ वर्ष साउदी अरबमा बिताएर वैदेशिक रोजगारीको अनुभव लिएका उनी आजकल काम हुँदा गाउँको ढुंगाखानीमा जान्छन् । काम नहुँदा घर कुरुवा भएर बस्छन् । बेलाबेलामा उनमा भूकम्पको पीडा छचल्किने गरेको तीतो अनुभव सुनाए । उनका लागि कहिल्यै निको नहुने घाउ बनेर आयो विक्रम संवत् २०७२ वैशाख १२ गतेको भूकम्प । भूकम्पमा परेर ३ वर्षका छोरा मायस गुमाए ।

त्यो दिन मेखामाई छोरालाई झोलुंगोमा हालेर सुताउने तरखरमा थिइन् । एकैचोटी गुटुङ्टुङ भएर हल्लायो । एकैछिनमा घर गर्लामगुर्लुभ ढल्लो । मायस पुरिए । आमा मेखामाईको पनि टाउकोबाहेक सबै पुरियो । गाउँलेले निकै समय लगाएर आमालाई त निकाले । छोरा फेला परेनन् । ३ दिनपछि छोराको लास भेटियो ।

गाउँका धेरै महिला विदेश भीमबहादुरकी २ श्रीमती, पेम्बाकी १ श्रीमती मात्रै होइन, कान्छा भाइ निक्मा लोप्चनको श्रीमती सविना पनि कमाइका लागि विदेशमै छिन् । छिमेकी मिलन तामाङकी श्रीमती सलमायाँ पनि कुुवेत गएको निक्कै समय भयो । छिमेकी १ जनाको यसैगरी विदेश जाँदाजाँदै आपसी विवाद हुँदा दुवै श्रीमतीले छाडेको उनीहरूले बताए ।

सानुकान्छी तामाङकी छोरी सुनमायाँ पनि वैदेशिक रोजगारीका लागि दुबई गएकी छिन् । सेलाङ गाउँमा रहेका १९ भूकम्प प्रभावित परिवारका ६ जना महिला वैदेशिक रोजगारीमा छन् । उनीहरूका श्रीमान् घर रुँगेर बस्छन् । गाउँलेका अनुसार पुरुषहरू गाउँमा भए पनि जुगल गाउँपालिकाका धेरै महिला विदेशिएका छन् ।

कानूनमा के छ रु विगतको मुलुकी ऐनमा श्रीमान् वा श्रीमतीबाट बच्चा नभएको प्रमाणित भएमा, नपुंसक भएमा, ३ वर्षसम्म एकअर्कालाई छाडेमा, पारपाचुके भएमा अर्को बिहे गर्न पाइने उल्लेख थियो । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसुरमा भने बहुविवाह बदर हुने र बहुविवाह गर्नेलाई कैद सजायको कानूनी व्यवस्था छ ।

उक्त कसुरअन्तर्गत दफा १७५ मा विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न नहुने र कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाले विवाह गर्न नहुने उल्लेख छ । यसरी विवाह गर्ने वा गराउनेलाई १ वर्षदेखि ५ वर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने र बिहे स्वतः बदर हुने उल्लेख छ ।

कसुरको दफा १७३ मा २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने र गरेमा ३ वर्षसम्म कैद र ३ हजार रुपैयाँ जरिवाना तथा विवाह बदर हुने उल्लेख छ । हद म्याद भने ३ महिनाको छ । कानूनमा कारवाहीको व्यवस्था भए पनि ग्रामीण भेगमा भने कानूनबारे जानकार नहुँदा बच्चामै बिहे हुने र बहुविवाह हुने क्रम भने रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News