भारतमा बढ्दो तनावः यस्तो छ अन्तर्य



नयाँ दिल्ली पुस ४
आफूलाई संसारकै ‘ठूलो लोकतन्त्र’ दाबी गर्ने भारत यतिबेला अशान्त बनेको छ । यसको अन्तर्यमा छ विवादित नागरिकतासम्बन्धी नयाँ कानुन ।

नागरिकता संशोधन ऐनका रूपमा परिचित नयाँ कानुनका कारण भारतको जनमत विभाजित बनेको छ।
हिन्दूवादी भारतीय जनता पार्टी नेतृत्वको संघीय सरकारले नयाँ कानुनले धर्मका आधारमा अभियोजन पर्न सक्ने व्यक्तिलाई नयाँ कानुनले समेट्ने दाबी गरे पनि आलोचकहरुले भने यो एउटा ‘हिन्दू राष्ट्रवाद’ कै अजेन्डा भएको र यसले भारतका २० करोड मुसलमानलाई सीमान्तकृत बनाउने आरोप लगाएका छन्।

त्यसैले यसविरुद्ध प्रदर्शन उग्र बन्दै गएको छ । सरकारले लगाएको प्रतिबन्ध अवज्ञा गर्ने हजारौं प्रदर्शनकारीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ। दुवै सदनबाट पारित नागरिकता संशोधन कानुनविरुद्ध प्रदर्शन गर्न नपाउने गरी राजधानी दिल्लीका विभिन्न भाग र उत्तर प्रदेश तथा कर्नाटक राज्यभर सरकारले प्रतिबन्ध लगाएको छ। राजधानी दिल्लीका प्रदर्शनस्थल नजिक रहेका केही भागमा मोबाइल टेलिफोन सेवा र इन्टरनेटसमेत अवरुद्ध गरिएको छ।

योसँगै विश्वकै सबैभन्दा ठूलो लोकतन्त्रमा एकैवर्ष भित्र इन्टरनेट सेवा बन्द गरिएको यो ९५ औं पटक भएको बताइएको छ। भारत सरकारले केही असहजता आउने बित्तिकै इन्टरनेट सेवा प्रदायकलाई व्यवस्था कायम गर्नका लागि भन्दै इन्टरनेट सेवा बन्द गर्न निर्देशन दिने गरेको छ।

भारतका तीन छिमेकी देशबाट आएका गैरमुसलमान आप्रवासीलाई नागरिकता उपलब्ध गराउने भन्ने नयाँ कानुनविरुद्ध भारतभर प्रदर्शन भइरहेको हो। नयाँ कानुनमा पाकिस्तान, बंगलादेश र अफ्गानिस्तानका गैरमुसलमान गैरकानुनी आप्रवासीलाई नागरिकता उपलब्ध गराउने व्यवस्था गरिएको कारण प्रदर्शन भइरहेको छ भने केही भागका प्रदर्शन हिंसात्मकसमेत भएका छन्।

नागरिकतासम्बन्धी नयाँ कानुनविरुद्धको प्रदर्शनमा सहभागी भएर पक्राउ परेकामध्ये एकजना ख्यातीप्राप्त इतिहासविद् र भारतीय जनता पार्टी नेतृत्वको सरकारको खरो आलोचक रामचन्द्र गुहा पनि रहेको बिबिसीले उल्लेख गरेको छ। उनलाई भारतको दक्षिणी सहर बैंगलोरबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। उनलाई पक्राउ गरिएको भिडियो सामाजक सञ्जालमा चर्चित बनिरहेको छ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले एउटा ट्विट गर्दै उक्त गिरफ्तारीको निन्दा गरेकी छन्। उनले सरकार ‘एकजना इतिहासकारले मिडियासँग कुरा गर्दा र महात्मा गान्धीको पोस्टर हातमा लिँदा डराएको’ टिप्पणीसमेत गरेकी छन्। त्यसैगरी राजनीतिक अभियन्ता एवं स्वराज पार्टीका नेता योगेन्द्र यादवसहित कैयौं प्रदर्शनकारीलाई राजधानी दिल्लीबाट प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रदर्शनका कारण दिल्ली मेट्रो रेलसेवाका कतिपय स्टेसन बन्द गरिएका छन्। दिल्ली मेट्रोका अनुसार सुरक्षाका कारण बाराखम्बा, वसन्त विहार, मन्डी हाउस, केन्द्रीय सचिवालय, पटेल चौक, उद्योग भवन, आइटिओ, प्रगति मैदान, खान मार्केट बन्द गरिएका छन्।
नागरिक समाज, राजनीतिक दल, विद्यार्थी, अभियन्ता र सर्वसाधारणले विभिन्न सामाजिक सञ्जालमार्फत प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई संयम अपनाउन र शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न आग्रह गरेका छन्। ९एजेन्सीको सहयोगमा ०

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News