मुहार फेर्दै सेती प्रादेशिक अस्पताल




धनगढी, ५ पुस
सुदूरपश्चिम प्रदेशकै रेफरल अस्पतालका रुपमा रहेको सेती प्रारदेशिक अस्पताल अहिले मुहार फेर्दै गएको छ । अस्पतालको सरसफाईदेखि सेवा प्रवाहमा विगतको भन्दा धेरै सुधार आएको पाइएको छ ।

अस्पतालमा अहिले सबैभन्दा पहिले देखिने गरिनै सरसफाईमा सुधार भएको प्रष्ट छ । विगतमा नाक छोपेर जानुपर्ने अस्पतालका वर्डाहरुमा अहिले कुनै दुर्गन्ध छैन । विभिन्न वार्डहरुमा टाइल लगाइएको छ । अस्पतालमा भएका सौचालयहरु केही सुधार भइसकेका छन् भने केही पुननिर्माणको क्रममा छन् ।

विगतमा अस्पतालमा भएका सौचालयहरुमा जान सकिने अवस्था नै थिएन । सौचालय भित्र मात्रै नभई बाहिर पनि जताततै दिशापिसाव हुने अस्पतालमा सौचालयहरु अहिले व्यवस्थित भइरहेका छन् । अस्पतालको सेवा प्रवाहमा भइरहेको ढिलासुस्तीमा पनि विस्तारै सुधार भइरहेको छ ।

अस्पतालमा भइरहेको जनशक्ति अभावलगायतका कारण सेवा प्रवाहमा अझै केही समस्या भने यथावत रहेको अस्पताल व्यवस्थापन स्वीकार गर्छ । त्यो समस्या पनि जनशक्ति परिपूर्ति गरेपछि समाधान हुने विश्वास अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गा जोशीको भनाई छ ।

आन्तरिक सेवामा गुनासै गुनासो आउने सेती अस्पतालले हाल सेवामा धेरै सुधार ल्याइसकेको छ । प्रदेश तथा संघीय सरकारले छुट्याएको बजेटले अस्पतालको मुहार फेरिदै गएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट हेमराज पाण्डेयले बताउनुभयो ।

उहाँले खानीपानी आपूर्ती सहज, पायक पर्ने ठाउँमा सुरक्षाकर्मी, मुल गेट निर्माण गरी जथाभावी सवारी साधन भित्रिनमा रोक, ओपीडीमा बिरामीहरुका लागि बस्ने सुबिधासमेतको व्यवस्था गरिएको बताउनुभयो ।

यसअघि अस्पततालमा रहेको फार्मेसी पनि अपायक ठाउँमा रहेको गुनासोपछि अहिले अस्पतालकै गेट नजिकै राखिएको छ । यस्तै, मातृशिशु खोप क्लिनिकलाई पनि व्यवस्थित बनाइएको छ । क्लीनिकको दुईतर्फबाट दुईतर्फ बाटो बनाएर सहज बनाइएको छ ।

यस्तै, अस्पतालमा रहेको ठूलो समस्यामध्ये खानेपानी समस्या पनि समाधान गरिएको छ । यसअघि बाहिरबाट बोतलमा पानी किनेर ल्याउनुपर्ने अवस्था सृजना भएको अस्पतालमा अहिले पानीको पर्याप्त व्यवस्था गरिएको छ । शुद्ध खानेपानीका लागि नयाँ प्रबिधि जडान गरेर खानेपानी संस्थानबाट पानीको लाइन जडान गरिएको छ ।

अस्पतालमा अझै स्तरोन्नतीकै क्रममा छ । कैयौं काम निर्माणाधिन अवस्थामा छन् । जसमा आकस्मिक कक्षमा अप्रेसन कक्ष तथा सेमी आइसीयु कक्ष बनाउन लागिएको छ । प्रयोगशाला बिस्तार, अत्याधुनिक औजारहरु थप्ने काम बाँकी नै छ । जसका लागि तीब्र गतिमा काम भइरहेको अस्पतालमा मेसु पाण्डेले बताउनुभयो ।

उहाँकाअनुसार नाक, कान, घाँटी सेवा बिस्तार, डेन्टल सेवा बिस्तारका अन्य सेवाहरु पनि थपिएका छन् । त्यस्तै फिजियोथेरापी युनिट स्थापना, पोषण पुनस्र्थापना गृह निर्माण, पोस्टमार्टम घरको आधुनिकिकरण कार्य बिस्तार प्रक्रिया शुरु तथा अक्सीजन प्लान्ट जडान कार्य भइसकेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट पाण्डेयले बताउनुभयो ।

त्यस्तै अस्पतालका पुराना भवन निर्माण, सवारी साधन पार्किङस्थल निर्माण प्रक्रियामा रहनुका साथै माइनर ओटी निर्माण भइसकेको छ । मेसु पाण्डेले अस्पतालमा थप सेवाहरु पनि थपिने जानकारी दिनुभयो ।

उहाँले निकट भविष्यमा कम्तीमा १५ बेडसम्मको आइसियु कक्ष बनाइने, डायलाइसिस सेवा बिस्तार गरिने, सबै कक्षमा सीसी टिभी क्यामेरा जडान गर्ने, ‘ए ग्रेड’को एम्बुलेन्स ब्यवस्थापन गर्ने, जनशक्ति ब्यवस्थापन, मुटु रोग, मृगौला रोग, युरोलोजी, प्याथोलोजी तथा मानसिक रोग सेवा बिस्तार गर्ने अस्पतालको योजना रहेको बताउनुभयो । त्यस्तै, नयाँ लिफ्ट तथा ¥याम्प निर्माण, क्याबिनहरुको निर्माणलगायतका काम गर्ने योजना पनि मेसु पाण्डेको सूचीमा छ ।

अस्पतालको बाहिरी सुन्दरतालाई पनि बढाउन बगैँचामा पानी फोहरा निर्माण गर्ने योजना पनि अस्पतालले अगाडि बढाएको छ । त्यस्तै मेडिकल कलेज, प्यारामेडिकल कलेजका रुपमा बिस्तार गर्ने तथा पाँच सय शैयाको अस्पताल बनाउने योजना पनि अस्पताले अगाडि सारेको मेडिकल सुपरिटेण्डेन्ट पाण्डेयले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News