पत्नीसहित गाउँपालिका अध्यक्षको मध्यरातमा अपहरण
दैलेख, पुस ६
पत्नीसहित दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही अपहरणमा परेका छन् । पत्नी इला शाहीसहित उनलाई गएराति १२ बजेको समयमा अज्ञात समूहले अपहरण गरेको हो ।
धिरबहादुरका भाइ हस्त शाहीले गाउँपालिकाको वडा नम्बर २ स्थित श्रीपाटामा रहेको आफ्नै घरबाट सोधपुछ गर्नुछ भन्दै अज्ञात समूहले लिएर गएको बताए । उनले उक्त समूहले अफूलाई पनि आधाबाटोसम्म लगेर साढे १ बजेतिर छोडिदिएको हस्तले जानकारी दिए ।
शाहीदम्पतिलाई विप्लव समूहले अपहरण गरेको आशंका गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले घटना जानकारीमा आएपनि कसले अपहरण गरेको भनी पुष्टि नभएको बताए । आइतबार बिहान सुरक्षा समितिको बैठक बसी अपहरितको खोजी तीब्र पारेको उनले जानकारी दिए।