भीम रावलमाथि कड्किए प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा, सिकाए जिम्मेवारीको पाठ




काठमाडौं, पुस ७
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति सदस्य भीम रावलमाथि कड्किएका छन् । स्थायी समिति बैठक सकिएपछि केही सञ्चार माध्यमले बैठकका निर्णयबारे नेता भीम रावललाई प्रश्न गर्दा त्यसबारे बोलेपछि प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जालबाटै आपत्ती जनाएका हुन् ।

आइतबार राति थापाले आफ्नो फेसबुकमा भीम रावलले मिडियासामू बोलेको भीडियो सेयर गर्दै त्यसको कडा आलोचना गरेका छन्। पार्टीका निर्णय सुनाउने जिम्मा पार्टी प्रवक्ताको भएकोले रावलले प्रवक्ताको काम गर्नु अराजक व्यवहार भएको आरोप थापाले लगाएका छन्।

‘कमरेड भीम रावल सुदूरपश्चिम प्रदेश समन्वय कमिटी इन्चार्ज रहनुभएको छ। अनि प्रवक्ताको काममा यो के को अभ्यास हो ?’ थापाले लेखेका छन्। ‘कुन काम कसको जिम्माको हो ? ख्याल गरिदिने कसले हो त ? अन्यथा, कार्यविभाजनबाट निर्धारित जिम्मेवारी कुण्डल र बुलाकीजस्तो हुने, अनि जो पनि प्रवक्ता जस्तो बनेर प्रस्तुत हुने अराजकता हावी हुन्छ।’

पार्टीले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई केन्द्रीय प्रचार तथा प्रकाशन विभागको प्रमुख र आफूलाई उपप्रमुख बनाएको स्मरण गराउँदै थापाले पार्टीका निर्णय बाहिर ल्याउने जिम्मा आफूहरुको भएको भन्ने प्रस्ट्याउन खोजेका छन्। ८ घण्टापछि सोमबार बिहान थापाले फेसबुकको स्टाटस भने डिलिट गरेका छन्।

राजनीतिक प्रतिवेदन पारित गर्न प्रस्ताव गर्ने बेला महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य भीम रावलबीच चर्काचर्की परेको थियो। अध्यक्ष दाहालले प्रतिवेदन सुझाव समेटेर परिमार्जन गर्ने भन्दै पारित गर्न प्रस्ताव गरेका थिए।

प्रतिवेदनमा एमसीसीबारे प्रस्टता नभएको भन्दै भीम रावलले आफ्नो फरक मत रहेको जनाएका थिए। उनले १० पृष्ठको लिखित फरक मत बैठकमा देखाएका थिए। अध्यक्ष दाहालले सम्झाएपछि रावलले फरक मत फिर्ता लिएको घोषणा गरेका थिए। अन्नपूर्णमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News