राजपा ‘फोबिया’ ले निम्त्याएको बहिर्गमन



काठमाडौं, पुस ८
संघीय समाजवादीले सरकार छाडनुको कारण संविधान संशोधन मुद्दा भएको प्रचार गरिहेको छ । तर, यो केवल ‘फेस सेभिङ’ मात्रै भएको समाजवादी दल स्रोतकै भनाइ छ ।

बरु प्रमुख कारण आफ्नो मुख्य प्रतिष्पर्धी दल राष्ट्रिय जनता पार्टी (राजपा) सँग नेकपाको निरन्तर सुध्रिँदै गएको सम्बन्धले उपेन्द्र यादवको टाउको दुखाइरहेको थियो ।
बाबुराम भट्टराईसँग पार्टी एकता गरेपछि सरकार छाड्न निरन्तर परेको दबाब झेलिरहेका उपेन्द्र यादवका लागि नेकपा–राजपा सम्बन्ध सुधार असह्य बन्दै थियो । उनी निकट स्रोतको भनाइ छ ‘सत्ताको लोभमा परेको भन्ने अपमान सहेर भए पनि उहाँ सरकारमा टिक्नुभएको थियो । तर, जब नेकपाले राजपासँग सहकार्यको छनक दियो, उहाँ झनै असुरक्षित महसुस गर्न थाल्नुभयो । जे भने पनि मुख्य कारण यही हो ।’

संघीय समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेपछि संविधान संशोधनको कुरा बाहिर आएको छ । तर, यो मुद्दा नौलो होइन । ‘सशोधन मात्रै मुद्दा भएको भए यतिञ्जेल किन सरकारमा बस्नुहुन्थ्यो ?’, उनी निकट स्रोतको भनाइ छ ‘संशोधनभन्दा पनि राजपा फ्याक्टर बढी निर्णायक भयो ।’ स्रोतका अनुसार स्वास्थ्यबाट कानुन मन्त्रालयमा पठाउँदा अपमान भयो भन्नेहरुलाई उपेन्द्र यादवले वेवास्ता गर्दै खुसीसाथ जिम्मेवारी ग्रहण गरेका थिए ।

राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नेकपाले राजपासँग सहकार्य गरेपछि उपेन्द्र यादव झस्किएका थिए भने बाबुराम भट्टराई समूह यही कारण दर्शाएर यादवलाई सरकार छाड्न दबाब दिइरहेको थियो । यसै पनि उपेन्द्रको सत्तासीन अवस्था विरोधाभाषपूर्ण थियो ।
नयाँ संविधान अनुसार सरकारमा जाने तर त्यही संविधान दिवस मनाउन आनाकानी गर्ने भन्दै उनको आलोचना चुलिएको थियो । यसपटकको संविधान दिवसमा मात्रै केही संयमित देखिएका उपेन्द्र यादवलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाले राजपासँग सुधारेको सम्बन्ध नै अन्ततः सत्ताबाट अलग्याउने कारक बन्यो । ‘उहाँले मधेश समस्या समाधान गर्न चाहनुभएको हो कि प्रतिशोध लिन भन्ने नै बुझिएन’, समाजवादीकै एक नेताले भने ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News