धनगढीलाई प्लाष्टिकरहित नगर बनाउने अभियान घोषणामै सीमित




अंकुश कुँवर/धनगढी, पस १०
धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले गएको असोज अन्तिम साता धनगढीलाई प्लाष्टिकरहित नगर बनाउने घोषणा गरे । घोषणासंगै नगरप्रमुख वडले पहिलो चरणमा तरकारी हाटबजारलाई र विस्तारै उपमहागनरलाई नै प्लाष्टिकरहित बनाउने योजना अघि सारे ।

सोहीअनुसार आफै हाटबजारमा उपस्थित भएर कृषक, व्यापारी तथा उपभोक्तालाई हाटबजारमा प्लाष्टिकका झोला प्रयोग नगर्न र गर्न नपाइने भन्दै सम्झाई बुझाईसमेत गर्न भ्याए । सो अवसरमा हाटबजारमा नगरप्रमुख वडसहित उपप्रमुख सुशीला मिश्र भट्ट, वडाध्यक्ष तथा अन्य जनप्रतिनिधि, कर्मचारी, रेडक्रसकर्मीलगायतको पनि सहभागिता रहेको थियो ।

हाटबजारमा अभियान सुरु गर्दा सुरुमा कपडाको झोला वितरण तथा प्रयोगका लागि अनुरोध गर्ने र त्यसपछि पनि प्लाष्टिकको थैला प्रयोग गरेको पाइए कारबाही गर्ने चेतावनीसमेत दिइएको थियो ।

यति मात्रै नभई बेलाबेलामा प्लाष्टिकको झोला प्रयोगमा कमि आएको छ वा छैन भनेर अनुगमन निरीक्षण पनि गरिने भनिएको थियो । साथै त्यहाँ प्लाष्टिकका झोला विक्री गर्ने व्यक्तिलाई अब प्लाष्टिकका झोला बन्द गरेर नगरपालिकाका झोला विक्री गर्न निर्देशनसमेत दिइएको थियो ।

यो अभियानको धेरैले प्रसंशा गरे पनि । तर, केहीले ‘दुई दिनको हल्ला मात्रै हो यो’ पनि भन्न भ्याएका थिए । नभन्दै अहिले त्यही हुन पुगेको छ । उपमहानगरपालिकाको ‘प्लाष्टिकरहित नगर’ अभियान अहिले साच्चिकै घोषणामै सीमित बन्न पुगेको छ ।

सुरुका दिनमा हल्लाखल्ला गर्दै सुरुवात गरिएको प्लाष्टिकरहित अभियानलाई बेवास्ता गरिएको छ । हाटबजारमा प्लाष्टिकरहित अभियान भनेर लगाइएको बोर्डमा बनाइएका नियमले उपमहागनरपालिकालाई नै गिज्याइरहेको पनि छ । ती नियमहरुको कुनै पालना भएको छैन ।

हाटबजारमा केही व्यक्तिहरुको हातमा मात्रै नगरपालिकाले विक्री गरेको झोला देख्न पाइन्छ । नभए सबै व्यापारी तथा ग्राहकसंग प्लाष्टिकको झोला मात्रै हुने गरेको छ । हाटबजारमा झोला विक्री गर्ने व्यक्तिहरुले अहिले दैनिक ५० केजीको हाराहारीमा प्लाष्टिकको झोला विक्री गरिरहेका छन् ।

तर, उपमहागनरपालिकाले विक्री गर्न भनेर दिएको झोला भने दैनिक एक सय झोला पनि नकट्ने गरेको उनीहरु बताउँछन् । हाटबजारमा झोला विक्री गर्ने धोर्केे रानाले दैनिक १५ देखि २० केजी प्लाष्टिकको झोला विक्री भइरहेको बताए ।

उनले उपमहानगरपालिकाबाट ल्याइएको झाला देखिन २५–३० झोला विक्री हुने गरेको बताए । सोही हाराहारीमा अन्य दुई जनाले पनि झोला विक्री गरिरहेका छन् । प्लाष्टिकको झोला दैनिक १५ देखि २० केजी विक्री हुँदा कपडाको झोला २५–३० जति मात्रै जान्छ’ अर्का झोला विक्री गर्ने फुलराम चौधरीले भने, ‘उपमहानगरपालिकाबाट वितरण भएको झोला फाटफुट मात्रै विक्री हुने गरेको छ ।’

मानिसहरुलाई बानी नपरेका कारण नै प्लाष्टिकको झोला प्रयोगक कम हुन नसकेको हुनसक्ने उनले बताए । उनकाअनुसार उपमहानगरपालिकाबाट प्राप्त झोलाहरु हालसम्म नौ सय विक्री भएका छन् ।

उपभोक्ताहरुले पनि तरकारी किनेपछि व्यापारीहरुले झोला दिइहाल्छन् भनेर पनि कपडाको झोला नकिन्ने गरेको एक तरकारी व्यापारीले बताए । उनले कतिपयले कपडाको झोला किनेर लिएका भएपनि कहिलै ल्याउने र कहिलै नल्याउने गरेको बताए ।
‘घरबाटै तरकारी किन्न आएको भएमात्रै झोला बोकेर आइन्छ,’ एक उपभोक्ताले भने, ‘बाहिरबाट आएर तरकारी किन्दा प्लाष्टिककै झालामा तरकारी लिएर जानुको विकल्प पनि छैन ।’ उनले उपमहानगपालिकाले कडाई नगर्दासम्म यो अभियान सफल नहुने दाबीसमेत गरे ।

धनगढी उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरीले हाटबजारमा व्यापारीहरु नै एक आपसमा नमिलेका कारण प्लाष्टिकरहित नगर अभियान सफल हुन नसकेको बताए । ‘हाटबजारमा कोही शुद्ध किसान छन् त कोही व्यापारीहरु छन्,’ उनले भने, ‘उनीहरुलाई नै मिलाउन नसकेका बेला यो अभियानमा असर पुगेको छ ।’

उनकाअनुसार हाटबजारमा केहीले किसान मात्रै बस्न पाउनेपर्ने आवज उठाइरहेका छन् भने केहीले तरकारी खरिद गरेर पनि विक्री गर्न पाउनुपर्ने माग गर्दै आएका छन् । हाटबजारमा झोला विक्री गर्नेहरुले हालसम्म नौं सय कपडाको झोलाहरु विक्री गरेको बताएपनि प्रवक्ता मुडभरीले भने हालसम्म १५ सय भन्दा बढी झोलाहरु विक्री भइसकेको दाबी गनरे ।

वातावरणीय रुपमा असर पुग्ने प्लाष्टिकको झोलाको प्रयोगलाई निरुत्साहित गर्न उपमहानगरपालिकाले बलियो खालको झोला उत्पादन गरेको थियो । जसलाई खल्तीमा पनि हालेर पनि बोक्न सकिन्छ । उपभोक्ताको सुविधा र प्लाष्टिकको झोलाको प्रयोग कम गराउन २० रुपैयाँ मूल्य राखेर विक्री गर्न सुरु गरिएको थियो । तर, त्यो झोलाको प्रयोग निकै कम मात्रामा मात्रै भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News