छाउगोठ भत्काउन धामी–झाँक्रीको पनि साथ

अंकुश कुँवर/धनगढी, पुस १२
अछाममा छाउपडी कुप्रथाकै कारण महिलाहरुको ज्यान जान थालेपछि अछाममा धमाधम छाउपडी गोेठ भत्काउन थालिएको छ । अभियान नै सञ्चालन गरेर जिल्लाका विभिन्न स्थानीय तहमा छाउपडी गोठ भत्काउन थालिएको हो ।
गत महिना जिल्लाको साँफेबगर नगरपालिकामा छाउगोठमा सुतिरहेको बेला फेरि एक महिलाको ज्यान गएपछि जिल्लामा छाउपडी गोठ भत्काउने अभियान सञ्चालन गरिएको छ । अहिले दैनिक एक सयको हाराहारीमा छाउ गोठ भत्काउने काम भइरहको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
प्रहरीले नै विभिन्न स्थानीय तहका जनप्रतिनिधीको समन्वयमा जिल्लामा छाउपडी गोठ भत्काउने काम गरिरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपक भारतीले बताउनुभयो । उहाँले शुक्रबार मात्रै जिल्लाभर ९६ वटा छाउपडी गोठ भत्काइएको जानकारी दिनुभयो ।
उहाँकाअनुसार अघिल्लो दिन विहीबार विभन्न स्थानीय तहमा ६९ वटा छाउउपडी गोठ भत्काइएको थियो । ‘केही दिनदेखि जनप्रतिनिधिको समन्वयमा जिल्लाका विभिन्न ठाउँमा छाउपडी गोठ भत्काउने काम भइरहेको छ,’ डीएसपी भारतीले भन्नुभयो, ‘अहिलेसम्म कति छाउगोठ भत्कायौं भनेर तथ्याङ्क यकिन भइसकेको छैन । जोड्ने काम भइरहेको छ ।’

जिल्लाका स्थानीय तहहरुमा ईलाका प्रहरीमार्फत जनप्रतिनिधिहरुसंग समन्वय गरेर छाउगोठ भत्काउने कार्य भइरहेको उहाँले बताउनुभयो । जिल्लामा हालसम्म एक हजार भन्दा बढी छाउपडी गोठ भत्काइसकिएको छ ।
जिल्लाकै प्रमुख व्यापारिक केन्द्र साँफेबगर नगरपालिकामा मात्रै पाँच सय छाउपडी गोठ भत्काइएको छ । जसमध्ये नगरपालिकाको वडा नं.२ जाल्पादेवीका सम्पूर्ण छाउगोठ भत्काइएका छन् । वडामा रहेका ९६ वटा छाउगोठ भत्काइएको वडा नं.२ जाल्पादेविका सामाजिक परिचालक कल्पना स्वाँरले जानकारी दिनुभयो ।
पहिले प्रयोगमा रहेर अहिले अन्य प्रयोजनमा प्रयोग भएका छाउगोठ पनि भत्काएको उहाँले बताउनुभयो । छाउपडी गोठ भत्काउने काममा धामी झाँक्रीले पनि सहयोग दिइरहेका छन् ।
मष्टाका धामी नवराज परियार स्वयम आफै छाउगोठ भत्काउने अभियान लाग्नुभएको सामाजिक परिचालक स्वाँरले बताउनुभयो । यस्तै, साँफेबगर नगरपालिका वडा नं.७ रिडिकोटमा पनि शुक्रबार २० वटा छाउगोठ भत्काइएको छ । वडा अध्यक्ष मिठ्ठु भाटको नेतृत्वमा गएको टोलीले ककरसातमा १४ वटा र डोडरदेखि नवागाउँमा छ वटा गोठ भत्काएको छ ।
वडामा विहीबार नौंवटा गोठ भत्काइएको थियो । जनप्रतिनिधि, राजनीतिक दल, समाजसेवी, ईलाका प्रहरी वयालपाट, आमा समूह, महिला स्वयसेविकालगायतको सहयोगमा छाउगोठ भत्काउने काम भइरहेको अछामका पत्रकार तपेन्द्र कुँवरले जानकारी दिनुभयो ।
छाउगोठ भत्काउने अभियानमा महिलाको पनि स्वतस्फूर्त सहभागिता रहेको उहाँको भनाई छ ।
विहीबार साँफेबगर नगरपालिका वडा नं. १३ मा पनि १० वटा छाउपडी गोठ भत्काएको थियो । यस्तै, विहीबार जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ मा पनि १४ वटा छाउपडी गोठ भत्काइएको थियो ।

डोटीमा प्रशासनको उर्दी
डोटीमा पनि छाउगोठ हटाउन जिल्ला प्रशासन कार्यालयले उर्दी जारी गरिसकेको छ । महिनावारी भएकी महिलालाई छाउगोठमा राख्नेलाई कारवाही गर्ने भन्दै प्रशासन कार्यालयले यस्तो उर्दी जारी गरेको हो ।
जिल्लामा रहेका छाउगोठ हठाउन जिल्लाव्यापी अभियान चलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला सदरमुकाम सिलगढीमा छाउगोठ नभए पनि अधिकांश ग्रामीण क्षेत्रमा अहिले पनि छाउ बार्ने तथा गोठ रहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रशासनले छाउगोठ भत्काउन सबै स्थानीयतहलाई पत्राचारसमेत गरेको छ ।
जिल्लाका ग्रामीण क्षेत्रमा भएका छाउगोठका बारेमा समेत प्रहरी प्रशासनले तथ्याङ्क सङ्कलन गर्न शुरु गरेको छ । छाउपडी प्रथाका कारण सुदूरपश्चिमभरिमा हालसम्म १२ भन्दा बढी महिलाको अकालमै ज्यान गइसकेको विभिन्न संघ संस्थाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
महिनावारी हुँदा छाउगोठमा बस्नुपर्ने अवस्थाका कारण यहाँका महिला बलात्कारको शिकार हुनेजस्ता घटना हुँदै आए पनि त्यसको रोकथामका लागि खासै पहल हुन नसकेको स्थानीयको आरोप छ । महिनावारी भएकी महिला घरैमा बसे घरमा अनिष्ट हुने तथा देउता रिसाउने भन्ने अन्धविश्वास रहेको छ ।
गृह मन्त्रालयले सुदूरपश्चिमका विभिन्न ठाउँमा रहेका छाउगोठलाई नष्ट गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएपछि यहाँको प्रशासनले छाउगोठ राख्ने तथा छाउगोठमा बस्न बाध्य बनाउनेलाई कारवाही गर्ने भएको हो ।
प्रकाशित मिति: १२ पुस २०७६, शनिबार