सुदूरपश्चिम पुगेर भीम रावलप्रति मन्त्री बाँस्कोटाको कटाक्ष : ‘आफै मात्र समृद्ध भएर पुग्दैन’




धनगढी, पुस १५
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सुदूरपश्चिम पुगेर पटक–पटक सरकारको नेतृत्व गरेका अन्य दलका नेतासहित आफ्नै दलका नेता भीम रावलले सुदूरपश्चिम प्रदेशको विकासका लागि केही गर्न नसकेको बताएका छन् ।

राष्ट्रिय राजनीतिको निर्णायक तहमै प्रतिनिधित्व गर्ने नेताले आफ्नो समृद्धि गरेपनि प्रदेशलाई माथि उकास्न नसकेको उनले आरोप लगाए । प्रेस क्लव नेपाल र रेडियो सुदूर सन्देशको संयुक्त आयोजनामा सोमबार धनगढीमा भएको ‘सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिमा मिडियाको भूमिका’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र राप्रका नेता लोकेन्द्रबहादुर चन्दले चार÷चार पटक प्रधानमन्त्री हुने अवसर पाएपनि प्रदेशको विकास र समृद्धिका लागि केही गर्न नसकेको मन्त्री बाँस्कोटाले बताए । ‘एकै प्रदेशले आठ पटक प्रधानमन्त्री हुने अवसर पाउनु सामान्य कुरा होइन,’ उनले भने, ‘खै प्रदेशको लागि के गर्नुभएको छ ? मानवीय सूचकांकको आधारमा प्रदेश अझै पछाडि नै छ ।’

उनले यहाँका जनताको पछौटेपनका कारण पनि नेताहरुले आफ्नो मात्रै समृद्धि गर्ने अवसर पाएको बताए । नेताहरुले व्यक्तिगत जीवनलाई धेरै माथि उकासे पनि प्रदेशको विकासका दिगो विकासका लागि गम्भीर भएर नलागेको आरोप लगाए ।

आफ्नै दलका नेता तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलप्रति इंगित उनले भने, ‘राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा खरो उत्रिनु भन्दा पहिले चर्चित नेताहरुले आफ्नै प्रदेशको अवस्थाबारे पहिलो चिन्ता लिनुपर्छ ।’ काँग्रेस सभापति देउवा र राप्रपा नेता चन्दको नाम लिएर बोलेका मन्त्री बाँस्कोटाले आफ्नै दलका नेता रावलको भने नाम उच्चारण गरेनन् ।

चर्चित नेताकै जिल्लामा छाउपडी प्रथा नरोकिएको भन्दै उनले भने, ‘प्रदेशकै कलंकका रुपमा छाउपडी प्रथा रहेको छ, जुन राष्ट्रिय अन्तर्राष्ट्रिस्तरमा पनि चर्चाको विषय बनिसक्यो ।’ समृद्धिको बाधक बनेको छाउपडी प्रथा हटाउन नसकेकोमा उनले आश्चर्य व्यक्त गरे ।

मानव विकास सूचकांकको आधारमा सुदूरपश्चिमका बाजुरा, बझाङ र अछाम पछाडि परेको भन्दै उनले भने, ‘मैले कसैप्रति व्यक्तिगत लाल्छना पनि लाउन खोजेको होइन, यो अवस्थामा अब के गर्ने भन्ने विषयमा सोच्नुपर्छ र बहस चलाउनुपर्छ ।’ राम्रा कुरामा आफू कसैसंग नडराउने र गल्ती पनि नगर्ने भन्दै उनले सरकार र पार्टीविरुद्ध बोलेर मात्रै केही नहुने बताए ।

गणतन्त्र आइसक्दा पनि मान्छे तर्साएर हिड्ने मानिसहरु अझै रहेको भन्दै उनले समृद्ध नेपाल, सुशी नेपालीको नारा ओलीका लागि मात्रै नभई भोलिका लागि भएको बताए । मन्त्री बाँस्कोटाले अब प्रदेशको विकासका लागि जनताले जागरुक हुनुपर्ने बेला भएको बताए । मिडियाले पनि प्रदेशको विकासका चुनौती र सम्भावना के हुन भन्नेबारे खोज्नुपर्ने उनले सुझाव दिए ।

कार्यक्रममा पूर्व अर्थ राज्यमन्त्री दामोदर भण्डारी, सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा, नेकपाका कैलाली जिल्ला अध्यक्ष तथा प्रदेश सांसद रतन थापा, प्रेस क्वाउन्सिल नेपालका सदस्य गोपाल बुढाथोकी, महिला अधिकारकर्मी गोमा आचार्य, अकोराब सुदूरपश्चिमका अध्यक्ष दिर्घराज उपाध्याय, इन्सेक क्षेत्रीय संयोजक खड्कराज जोशी, नाष्ट कलेजका प्रमुख शिवहरी मुडभरी, बरिष्ठ पत्रकार उमिद बाग्चन्दले मन्तव्य राखेका थिए ।

प्रेस क्लवका अध्यक्ष तथा रेडियो सुदूर सन्देशका प्रबन्ध निर्देशक हेमन्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य क्लवका उपाध्यक्ष भानुभक्त आचार्यले राखेका थिए । कार्यक्रमको सञ्चालन क्लवका सचिव सुशील ढुंगानाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News