राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा नेकपा बलियो



विराटनगर पुस २०

प्रदेश १ बाट राष्ट्रिय सभा सदस्यमा प्रतिनिधित्व गर्न नेकपा, कांग्रेस र समाजवादी पार्टीका नौ उमेदवारको मनोनयन परेको छ ।

नेकपाले झापाका देवेन्द्र दाहाल, मोरङका गोपी अछामी र सुनसरीकी इन्दु गौतमलाई उमेदवार बनाएको छ । तीनै जनाले आइतबार सँगै मनोनयन दर्ता गराएका छन् ।
दाहाल तत्कालीन एमालेको झापा सचिव थिए । यसअघि उनी संसदीय निर्वाचनमा पनि उठेका थिए । दमकका बासिन्दा दाहाल पुराना कम्युनिष्ट नेता हुन । यसैगरी अछामी तत्कालीन एकीकृत माओवादीका नेता हुन । जनयुद्धकालदेखि नै सक्रिय उनी एक पटक राज्यमन्त्री समेत भइसकेका छन् । सुनसरीकी गौतम अनेमसंघकी पुरानी नेतृ हुन ।
नेपालीले कांग्रेसले झापामा राजेन्द्रकुमार घिमिरे, पाँचथरका निरबहादुर विक र सुनसरी धरानकी मीनापुलामी मगरलाई उमेदवार बनाएको छ । घिमिरे झापाका पुराना व्यवसायी हुन । यसअघि उनी झापा वाणिज्य संघको अध्यक्ष थिए ।
कांग्रेसका तर्फबाट प्रदेश १ मा खटिएकी नेतृ डा. डिला संग्रौलाले पार्टीले योगदान दिएका व्यक्तित्वलाई उमेदवार बनाएको जानकारी दिइन । कांग्रेस र नेकपाले विराटनगरस्थित आ–आफ्ना पार्टी कार्यालयबाट रयाली निकालेर निर्वाचन कार्यालयसम्म पुगेका थिए ।
प्रदेश १ बाट राष्ट्रिय सभामा रिक्त भएको दलित एक, महिला एक र अन्य एक गरी तीन सदस्यका लागि वीरेन्द्र सभागृहमा मतदान हुनेछ । निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभाका सांसद मतदाता छन् । उनीहरुको मतभार भने फरकफरक छ । तहका प्रमुख र उपप्रमुखको १८ र प्रदेश सांसदको मतभार ४८ हुनेछ । १ नम्बर प्रदेशमा ९३ जना सांसद र एक सय ३७ स्थानीय तह छन् ।
स्थानीय तहका प्रमुख र उप्रमुखसहित दुई सय ७४ गरी तीन सय ६७ जना मतदाता हुने छन् । दुवैतर्फको गरी प्रदेशमा कुल मतभार भने नौ हजार तीन सय ९६ हुनेछ ।
यो प्रदेशमा नेकपा एमाले मात्रैले ५५ प्रतिशत मत सुरक्षित छ । तत्कालीन एकीकृत नेकपा माओवादीको जोड्दा नेकपाको मात्रै कुल मतभार ६७ प्रतिशत पुग्छ ।
माओवादीका प्रमुख, उपप्रमुख १६ र प्रदेश सांसद १६ सहित उनीहरूको कुल मतभार एक हजार ५६ छ । दुवै दलको जोड्दा कुल मतभार ६ हजार दुई सय ५८ हुन आउँछ । नेपाली कांग्रेसका प्रदेश नम्बर १ मा स्थानीय तहमा प्रमुख र उपप्रमुख गरी ६८ र प्रदेश सांसद २१ जना छन् । जसको कुल मतभार दुई हजार दुई सय ३२ पुग्छ ।
समाजवादी पार्टीले विराटनगरकी ३९ वर्षीया सदिना खातुनलाई महिला उम्मेदवार बनाएको छ । यसैगरी ज्ञानुकुमार परियार र अन्यमा भरतराज दाहालले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News