आज २९८ औँ पृथ्वी जयन्ती मनाइँदै
काठमाडौँ, पुस २७
नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको २९८ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । विक्रम संवत १७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका शाहले आफ्नो शासनकालमा ५० वटाभन्दा बढी भुरे–टाकुरे राज्यलाई जोडेर नेपाल एकीकरण गरेका थिए ।
२० वर्षको उमेरमै राजगद्दी सम्हालेका शाहले जीवनपर्यन्त एकीकरण अभियान अगाडि बढाएका थिए । उनको यही योगदानको कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरिएकोमा २०६२÷२०६३ को जनआन्दोलनपछि बनेको सरकारले एकता दिवस खारेज गरेको थियो ।
माओवादीको दबावमा तत्कालीन गृहमन्त्री कृष्ण सिटौलाले पृथ्वी जयन्ती र सो अवसरको बिदा कटौतीको प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए । यद्यपि, त्यसपछिका वर्षमा पनि जनस्तरबाट पृथ्वी जयन्ती मनाउने क्रम भने जारी नै छ ।
पछिल्ला वर्षहरुमा पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन जनस्तरबाट माग भए पनि सरकारले सो आवाजको कदर गरेको छैन । देशका अरु भागमा पनि यस वर्ष पृथ्वी जयन्तीका अवसरमा विभिन्न कार्यक्रम गरिने भएको छ ।