भक्तपुरमा एक युवकले देखाए तमासा : प्रहरीसहित चार जनामाथि खुर्पा प्रहार, गाडीमा पनि क्षति




भक्तपुर, पुस २७
भक्तपुरमा एक युवकले दुई प्रहरीसहित चार जनामाथि खुर्पा प्रहरी गरेका छन् । भक्तपुर नगरपालिका वडा नम्बर १० पाइपलाइनमा एक युवकले अन्धाधुन्ध खुर्पा प्रहार गर्दा महानगरीय प्रहरी परिसर भक्तपुरकाअनुसार जाजरकोटको नलगाढ नपा १ बस्ने २० वर्षीय रामबहादुर विकले शनिबार अन्धाधुन्ध खुर्पा प्रहार गरेर दुई प्रहरीसहित चारजनालाई घाइते बनाएका हुन्।

विकले सुरुमा ओखलढुंगा चम्पादेवी गाउँपालिका १० घर भई हाल भक्तपुर नपा १० कमलविनायक बस्ने ६० वर्षीया भुनामाया थापा र स्थानीय ४५ वर्षीया राजमती जाकिबन्जारमाथि खुर्पा प्रहार गरेका थिए ।

थापा र जाकिबञ्जारमाथि खुर्पा गरेलगत्तै स्थानीयको सूचनाको आधारमा खटिएको प्रहरीमाथिसमेत विकले खुर्पा प्रहार गरेको परिसरका प्रहरी निरीक्षक पञ्चलाल गोलेले जानकारी दिए ।

उनका अनुसार विकले आफूलाई नियन्त्रणमा लिन खोज्ने महानगरीय प्रहरी प्रभाग व्यासीमा कार्यरत प्रहरी हबल्दार जीतेन्द्रप्रसाद यादव र प्रहरी जवान टोलबहादुर श्रेष्ठमाथिसमेत खुर्पा प्रहार गरेका थिए । खुर्पा प्रहारबाट घाइते थापाको उपचार काठमाडौंको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा भइरहेको छ ।

सुरुमा भक्तपुरको मध्यपुर थिमिस्थित मध्यपुर अस्पताल लगिएका उनलाई थप उपचारको लागि नेपाली सैनिक अस्पताल रिफर गरिएको प्रहरी निरीक्षक गोलेले जानकारी दिए । त्यस्तै घाइते जाकिबञ्जारको मध्यपुर अस्पतालमै उपचार भइरहेको छ । प्रहरीले नियन्त्रणमा लिँदा पनि विकले भक्तपुर नपा १० देकोचास्थित बा २ झ १८५ नम्बरको सीआरभी गाडीमा क्षति पुर्‍याएका छन् ।

प्रहरी निरीक्षक गोलेका अनुसार विकले सीआरभी गाडीको अगाडिको सिसा फुटाउनुका साथै सञ्चार बेस सेटमासमेत क्षति पुर्‍याएका छन् । विकलाई महानगरीय प्रहरी परिसर भक्तपुरको नियन्त्रणमा राखिएको छ । उनीमाथि थप अनुसन्धानको कार्य भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News