भूमिसुधार मन्त्रीले नै खोला आफ्नो नाममा बनाएर बेचेको खुलासा




काठमाडौं, माघ २
०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका भूमिसुधार तथा व्यवस्थामन्त्री जगन्नाथ आचार्यले खोलाको १७ रोपनी १४ आना जग्गा आफ्नो नाममा बनाएर बेचेको खुलेको छ ।

आचार्यले भक्तपुरको हनुमन्ते खोलाको जग्गा ०३१ मै जिल्ला भूमि प्रशासन कार्यालयबाट निर्णय गराई आफ्नो नाममा गराएका हुन् । ०२१ को नापीले मध्यपुर थिमि नगरपालिका–३ सागबारीस्थित २८ रोपनी तीन आना दुई पैसा जग्गा कित्ता नम्बर १०१२ मा हनुमन्ते खोलाको नाममा दर्ता गरेको थियो ।

तर, खोलाले धार परिवर्तन गरेको मौका छोपी ३१ वैशाख ०३१ मा आचार्यले खोलाको १७ रोपनी १४ आना आफ्नो नाममा दर्ता गरे । जिल्ला मालपोत कार्यालय भक्तपुरको जग्गाधनी पुर्जा स्रेस्ताअनुसार खोलाको कित्ता १०१२ लाई ११२० र ११२१ मा टुक्र्याएर ११२० को १७ रोपनी १४ आना उनले आफ्नो नाममा दर्ता गरेका थिए ।

भूमि प्रशासनको निर्णयबमोजिम खोलाको जग्गा आचार्यले आफ्नो नाममा दर्ता गरेको भन्ने मालपोतको लिखतमा उल्लेख छ । जग्गा दर्ता गराउने अधिकृत र सर्वेक्षकको नाम प्रस्ट नबुझ्ने गरी किर्ते गरिएको छ । कित्ता नम्बर ११२१ को जग्गा भने सरकार वा व्यक्ति कसको नाममा गरिएको भन्ने कार्यालयको ढड्डाबाट स्पष्ट खुल्दैन ।

नापी कार्यालय भक्तपुरले कित्ता नम्बर ११२१ को नक्सा भए पनि सो जग्गा खोला वा व्यक्तिको नाममा रहे–नरहेकोबारे स्पष्ट नभएको जनायो । खोलाको जग्गा आफ्नो नाममा ल्याएपछि उनले कित्ताकाट गरेर परिवारका सदस्यको नाममा समेत सारे । त्यसपछि पटक–पटक कित्ताकाट गर्दै अहिलेसम्म आइपुग्दा आचार्यले सबै जग्गा बेचिसकेका छन् । नयाँ पत्रिकामा खबर छ ।

चार वर्षपछि कित्ता ११२० को १७ रोपनी १४ आनालाई बराबर दुई टुक्रा लगाएर कित्ता ११३० र ११३१ मा आठ रोपनी १५ आनाका दरले बनाए । उनले ५ असार ०३५ मा कित्ता ११३१ श्रीमती विमला उपाध्याय ९मालपोतको रेकर्डमा बिमली० र कित्ता ११३० शिवबहादुर उप्रेतीको नाममा रजिस्ट्रेसन गराए ।

त्यसपछि पटक–पटक कित्ताकाट गर्दै अहिलेसम्म आइपुग्दा आचार्यले सबै जग्गा बेचिसकेका छन् । उक्त जग्गा धेरैपटक धेरै व्यक्तिका नाममा किनबेच भइसकेको छ । हनुमन्ते खोला धार परिवर्तन गरेर अहिले व्यक्तिका निजी जग्गामा बगिरहेको छ ।

तर, आचार्यले अतिक्रमण गरेको खोलाको जग्गामा भने घरहरू बनिसकेका छन् । कतिपय ठाउँमा प्लटिङ भएका छन् । कतै कृषि उपार्जनका लागि टनेलहरू बनेका छन् । मालपोत कार्यालय भक्तपुरको ढड्डा पल्टाउँदा सो क्षेत्रमा अहिले आचार्यका कुनै पनि पारिवारिक सदस्यको नाममा जग्गा देखिँदैन ।

आचार्यका माइला छोरा विनोद भने पञ्चायत सरकारले बुबाको नाममा रहेको सबै सम्पत्ति जफत गरेको र पछि आधार, प्रमाण पु¥याएरै फिर्ता ल्याएको दाबी गर्छन् । ‘हनुमन्ते खोलाको जग्गा ०३१ मा बुबाले आफ्नो नाममा ल्याएको सही हो ।

आधार र प्रमाणविना आफ्नो नाममा दर्ता गरिएको होइन । बुबाले हामीलाई भन्नुभएअनुसार तत्कालीन भूमिसुधार प्रशासन कार्यालयमार्फत प्रमाण पुर्‍याएरै आफ्नो नाममा ल्याइएको हो,’ उनले भने । तर, पञ्चायत होस् या बहुदल या गणतन्त्र जुनसुकै शासन व्यवस्थामा पनि खोलाको जग्गा सधैँ राज्यकै हुन्छ, विनोद आचार्यले भनेजस्तो न व्यक्तिको हुन्छ, न त सरकारले आफ्नै जग्गा जफत गर्ने भन्ने हुन्छ ।

पूर्वमन्त्री आचार्यले हनुमन्ते खोलाको जग्गा आफ्नो बनाएको पुष्टि छोरा विनोदको झुटो दाबीले पनि गर्छ । जग्गा आफ्नो नाममा ल्याएपछि बुबाले त्यही जग्गा बैंकमा राखेर धितो निकालेको, मिल चलाएको र पछि ऋण तिर्न एक खण्ड शिवबहादुर उप्रेतीलाई बेचेको पनि विनोदले स्विकारेका छन् ।

०१५ मै सांसदमा निर्वाचित आचार्य ०२१ को नापी हुँदा भारतमा निर्वासित जीवन बिताइरहेका थिए । ०२५ मा नेपाल फर्किएका उनले नापीको १० वर्षपछि खोलाको जग्गा आफ्नो बनाएका थिए । त्यसको १७ वर्षपछि ०४८ मा उनी भूमिसुधार तथा व्यवस्थामन्त्री बनेका थिए ।

खोलाको जग्गा आफ्नो बनाउने आचार्य कांग्रेस वृत्तमा भने भूमिसुधारमा लड्ने क्रान्तिकारी नेता गनिन्थे । गिरिजाप्रसाद कोइराला नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्मा आचार्य क्रान्तिकारी मन्त्री रहेको कांग्रेस नेताहरू बताउँछन् ।

मोही किसानको पक्षमा आवाज उठाएकै कारण प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र राजपरिवारसँग सम्बन्ध चिसिएपछि आचार्यले मन्त्रीबाट राजीनामा दिनुपरेको ‘जगन्नाथ आचार्य स्मृति प्रतिष्ठान’ले प्रकाशित गरेको पुस्तकमा कांग्रेस नेताहरूले लेखेका छन् ।

रामचन्द्र पौडेल, बलबहादुर केसी, नरहरि आचार्य, अर्जुननरसिंह केसीलगायत नेताहरूले उनी मोही किसानका निष्ठावान र कर्मयोगी नेता भएको उक्त पुस्तकमा लेखेका छन् । आचार्यले १० वैशाख ०५० मा मन्त्रीबाट राजीनामा दिएका थिए । २६ वैशाख ०६१ मा उनको निधन भइसकेको छ । नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News