घाटबाट महिलाको शव बरामद, श्रीमान् पक्राउ


 



विराटनगर, माघ ३
विराटनगरको संघिया घाटमा जलाउन ठिक्क पारिएको अवस्थामा रहेको एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगर–८ कि २८ वर्षीया प्रेमादेवी साहको शव बिहीबार प्रहरीले अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएको हो ।

महिलाको शंकास्पद मृत्यु भएको भन्दै माइती र गाउँलेको मौखिक उजुरीका आधारमा घाटमा पुगेको प्रहरीले शव नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पति गोविन्द साहसँग राति सँगै सुतेकी प्रेमादेवी बिहान मृत अवस्थामा फेला परेकी थिइन् ।

खाटबाट लडेर उनको मृत्यु भएको दाबी उनका पतिले गरेका छन् । तर, माइती पक्षले भने उनको हत्या भएको भन्दै प्रहरीलाई उजुरी गरेका छन् । घरबाट शव उठाउने क्रममा गाउँलेले घाँटीमा आलो चोट देखेपछि हत्या भएको आशंका गर्दै प्रहरी र माइती पक्षलाई खबर गरेका थिए ।

गाउँलेले जानकारी गराएपछि बिहीबार दिउँसो २ बजे वडा प्रहरी कार्यालय विराटनगरको टोलीले घाटमै पुगेर शव नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी लोकदर्शन थापाले जानकारी दिए । उनले मृतक महिलाका पति गोविन्द साहलाई पनि अनुसन्धानका लागि पक्राउ गरिएको बताए ।

शव नियन्त्रणमा लिएपछि प्रहरीले पोस्टमार्टमका लागि कोसी अस्पताल विराटनगरमा पठाएको छ । प्रेमाको दाइजो वा अन्य कुनै कारणले घाँटी थिचेर हत्या भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । सुनसरीको बराहक्षेत्र माइती भएकी प्रेमादेवी बिरामी थिइन् । ८ र १० वर्षका दुई छोराकी आमा उनी केही दिनअघि मात्र माइतीबाट घर फर्केकी गाउँलेहरूले बताए ।

प्रकाशित मिति: ३ माघ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्