डीआईजी पोखरेलकाे एक्सन : आस्था राउत दोषी देखिए कारबाही हुन्छ


 


काठमाडौँ, माघ ३
महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानी पोखरीले गायिका आस्था राउत प्रकरणमा गम्भीर रूपमा अनुसन्धान गरेकाे छ। महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले आस्था राउतले सामाजिक सञ्‍जालमा लाइभ गर्दै बोलेको विषयमा गम्भीर रूपमा अनुसन्धान भएकाे बताए।

डीआईजी पोखरेलले विमानस्थलको सीसीटीभी फुटेज हेर्दा प्रारम्भिक रुपमा प्रहरीबाट कुनै गल्ती नभएको देखिएकाे बताए। त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले दुर्व्यवहार गरेको भन्दै गायिका आस्था राउतले भिडियोमार्फत आफूलाई चेकजाँचका क्रममा ‘तँ’ भनेको आरोप लगाउँदै प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’, ‘पुलिस कि फुलिस’ जस्ता शब्द प्रयोग गरेकी थिइन् । उनले आफूलाई महिला प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाउँदै फेसबुकमा भिडियो पोष्ट गरेकी थिइन् ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापाको भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले दुर्व्यवहार गरेको आस्थाको आरोप थियो । तर, अनुसन्धानका क्रममा प्रहरीबाट कुनै गल्ती नभएको सीसीटीभी फुटेजमार्फत पुष्टि भएको डीआईजी पोखरेलले दाबी गरे ।

उनले भने, “विमानस्थलजस्तो अति संवेदनशील ठाउँमा सुरक्षा चेकजाँचको विषयलाई लिएर मुलुकको कलाकारजस्तो व्यक्तिले संगठनको बदनाम गर्नु दुखद हो । विमानस्थलको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर प्रहरीले आस्था राउत, अथवा राष्ट्रिय तहका उच्च ओहोदाका वा जो कोही हुन् चेकजाँच गर्छ । अनुहार हेरेर कानुनसँग सम्झौता गर्दैन ।”

उनले यस विषयमा थप अनुसन्धान भइरहेको बताउँदै भने, “अनुसन्धानका क्रममा दोषी भेटिए प्रहरीलाई र आस्था दोषी प्रमाणित भएमा उनलाई पनि कारबाही गरिन्छ ।” डीआईजी पोखरलले अरुलाई सभ्यता सिकाउने एउटा सेलिब्रेटीले प्रयोग गरेको अमर्यादित शब्दले प्रहरी संगठनकै बदनाम गरेको र दुखी बनाएको बताए । ‘दुर्व्यवहार भए उजुरी गर्ने ठाउँ छ तर कलाकार भन्दैमा संगठनलाई नै बदनाम गराउन पाइँदैन’, पोखरेलले भने।

प्रकाशित मिति: ३ माघ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्