बच्चासहित लामिछाने दम्पत्तिले त्रिशूलीमा किन फाले हाम?


 


काठमाडौँ, माघ ३
थानकोट घर भएका बिनय लामिछानेको दम्पत्तिले आफ्ना दुई नाबालक सन्तानसहित बिहीबार साँझ त्रिशूली नदीमा हाम फालेका छन् । हाम फालेकामध्ये बिनयको उद्धार गरिएको छ भने उनकी श्रीमती जमुना रेग्मी (लामिछाने) को मृत्यु भएको छ । दुई नाबालक भने बेपत्ता भएका छन् ।

उद्धार गरिएका अन्दाजी ३८ बर्षिय श्रीमान बिनयलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । उनीहरुले किन नदीमा हाम फाले भन्ने कुरा अझै खुल्न सकेको छैन । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । तर जमुनाको फेसबुक अकाण्ट हेर्दा ऋण तिर्न नसकेर आत्महत्या गरेको देखिन्छ । उनले केही समय अघि आफ्नो फेसबुकमा स्टाटस लेखे अनुसार मिटर ब्याजमा रकम लिएको र सोको ब्याज र साँवा भुक्तानी गर्न रकमधनीले दवाव दिएपछि सामूहिक आत्महत्या गरेको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

जमुनाले चलाएको इम्जिर अनुमग नामक फेसबुकमा गत जनवरी ४ मा थानकोटमा नयाँ डिएसपी आएको मिटरब्याजमा ऋण दिएर ब्याज तिर्न नसक्नेलाई मर्न बाध्य बनाउने गिरोहलाई कारवाही गर्न माग गरेकी थिईन् । उनले फेसबुकमा नाम समेत परिवर्तन गर्नु र मिटर ब्याजका अपराधीको दवाव थेग्न नसकेपछि कारवाही हुने आशामा त्यस्तो स्टाटस राखेका हुनसक्ने प्रारम्भिक अनुमान गरिएको हो ।

उनीहरु माघे संक्रान्ती मनाउन गोरखाको घ्याल्चोक गएर काठमाडौंस्थित घर फर्कने क्रममा बिहिवार साँझ साढे ६ बजेको धादिङको बेनिघाटस्थित बाँदरे भन्ने स्थानमा रहेको झोलुङ्गे पुलबाट दुई नाबालक बच्चा लिएर दम्पत्तिले नदीमा हाम फालेको प्रत्यक्षदर्शीले बताएका छन् ।

नदीमा हाम फाले लगत्तै प्रत्यक्षदर्शीले प्रहरीलाई खवर गरेपछि स्थानीय र्‍याफ्टिङ गर्ने समुह लिई प्रहरीले बिनयलाई जीवित उद्धार गर्न सफल भएपनि जमुनाको भने मृत्यु भइसकेपछि शव फेला पारेकोे प्रहरीले बताएका छन् । घटनामा २ वर्षीय र ६ महिने बालक बेपत्ता छन् । नाबालकलाई जीवितै उद्धार गर्न सकिने सम्भावना सकिएको प्रहरीको भनाई छ । मकवानपुरका चित्लाङमा जन्मेमा लामिछाने हाल चन्द्रागिरी नगरपालिका अन्तर्गत थानकोटमा बस्दै आएका थिए ।

प्रकाशित मिति: ३ माघ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्