एमसीसीको विरोधमा उत्रिएका तीनजना भोजपुरबाट पक्राउ


 



भोजपुर, माघ ३
अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विरोधमा उत्रिएका तीनजना भोजपुरबाट पक्राउ परेका छन् । भोजपुर प्रहरीले एमसिसीको विरोध गरेको आरोपमा भोजपुर नगरपालिका देउराली निवासी भीम इशारा राई र विदुर राईसहित तीनजनालाई पक्राउ गरेको हो।

उनीहरुलाई बिहीबार भोजपुरको देउराली चोकबाट प्रहरीले गिरफ्तार गर्न खोजेको भएपनि स्थानीयले प्रतिकार गरेपछि फर्किएको प्रहरीले उनीहरुलाई सोही राति घरमा सुतिरहेको अवस्थामा पक्राउ गरेको थियो।

स्थानीयले डिएसपी नरबहादुर सलामी मगरलाई शान्तिपूर्ण प्रदर्शन गर्न दिन अपिल गरेका थिए। तर उनले एमसिसीको विरोधमा उत्रिनेलाई थुन्नै पर्ने भन्दै प्रहरी खटाएका थिए। स्थानीय सञ्चारकर्मी राजन सामपाङका अनुसार राईले देउराली चोकमा नो एमसिसी लेखिएको ब्यानर नै टाँगेका थिए।

उनले सामाजिक सञ्जालमा पनि एमसिसीको विरोध जनाइरहेका बेला पक्राउ परेका हुन्। उनीहरुले आफूहरु शान्तिपूर्ण आन्दोलनमा रहेपनि प्रहरीले ज्यादती गरेको गुनासो गरेका छन् ।

प्रकाशित मिति: ३ माघ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्