Home » विचार/ब्लग » देउसी नाच र ईश्वरबहादुरको मृत्यु !

देउसी नाच र ईश्वरबहादुरको मृत्यु !

shashi

शशी लुमुम्बू

सुनै र जस्तो के फूल फुल्यो
हा हा है काँकरी झ्यालैमा
मोती र जस्तो आँसु झर्यो
छुट्टिने बेलैमा …

मादले लेग्रो तानी–तानी बिलानी गाउँदै थिए । मादलको तालमा हात घुमाई–घुमाई मारुनी पनि आँगनीमा फनफनी नाचिरहेका थिए । त्यसैबेला काठमाडौँबाट आएको देश भेनाको फोनले एकाएक अत्यायो हामीलाई । कात्तिकको चिसोमा पनि मेरो निधारमा चिट–चिट पसिना उम्रियो ।

‘हैन कत्ति कोसिस गरेँ फोनै लाग्दैन त हौ । हन ईश्वरबहादुरको मृत्यु भयो रे हो ?’
एकाएक सननन भयो दिमाग ।

‘हैन होला ! अघि दिउँसोसम्म त ठीकै थिए बूढा । त्यस्तो खतरा केही थिएन । होइन कसले भन्यो तपाईंलाई ?’ मैले सोधेँ ।
‘मैले धरानबाट खबर पाएँ । हो, बूढा बिते रे, छिटो गाउँ झर्नुप¥यो । मणि पनि सँगै हो ?’

देश भेनाले अत्याउनु भयो ।

‘हो, हो । हामी सँगै छौँ । हुन्छ अब हामी गइहाल्छौँ ।’ मैले भनेँ ।

हामी मौन भयौँ । अब के गर्ने ? हामीले केही पनि सोच्न सकेनौँ । सोच्न सक्नु पनि कसरी ? ईश्वरबहादुरको मृत्यु सहज कारणले भएको थिएन । अर्थात् उनी कालगतिले गएकै थिएनन् ।

अघिल्लो दुई दिनअघि बुहारीले कुटेर उनको दाहिने हात ठनक्कै भाँचिदिएपछि उनी थलिएका थिए । त्यही पीडाको कारणले नै उनको प्राण गएको हो भन्ने बुझ्न हामीलाई गाह्रो भएन । यो कुराले हामीलाई निकै आतङ्कित बनायो ।

‘अब गाउँ नै बाँधिने भयो ।’
मैले सुस्केरा हालेँ ।
०००
ईश्वरबहादुर राई हाम्रो गाउँका एक रमाइला र रउसे मान्छे । सानैदेखि झारफुक गर्थे । गाउँमा कोही विरामी प¥यो भने उनको खाँचो परिहाल्थ्यो । उनले गएर यसो मन्त्र (अरुले नबुझ्ने गरी) फलाकेर अक्षता मन्साएपछि विरामीलाई विशेक भइहाल्थ्यो । तिहारमा देउसी नाच निकाल्नु पर्दा उनी नभइ हुन्नथ्यो ।

उनी असाध्यै राम्रो मादल बजाउँथे । मारुनी गीत उस्तै भाका मिलाएर गाउँथे । हामीले उनलाई धेरै वर्ष मारुनी उठाउने र फुकाउने काममा सहयोग मागेका छौँ । उनी सजिलै उपस्थित भइहाल्थे । उनलाई यसो एक बोतलचाहिँ शिर रखनी गर्नै पर्ने । त्यति भए उनी खुसी भइहाल्थे । अनि मादल भिरेर आँगनमा नाच्न थाल्थे—

वारि तुवाँलो मारुनै पारि तुवाँलो
दाताज्यूले पैसा दिए लाउली पुवाँलो
मारुनै लाउली पुवाँलो…
०००

तिनै रउसे ईश्वरबहादुरको मृत्युको समाचारले हामीलाई अत्यन्त दुःखित तुल्याइरहेको थियो । घटनाक्रमले यस्तो पनि मोड लेला भनेर त हामीले कल्पनासमेत गरेका थिएनौँ । आखिर त्यही नै भयो, जे नहोस् भनेर म मनमनै कामना गरिरहेको थिएँ ।

‘अब के गर्ने ?’ हामीसँग कुनै उपाय थिएन । धनकुटा गएकी जमुना यतिबेला कहाँ आइपुगिन् होला ? मैले फोन लगाउने कोसिस गरेँ । मरिगए सम्पर्क हुन सकेन । बल्ल–बल्ल नेटवर्क समात्यो । हतासिँदै जमुना बोलिन्, ‘म रानीटारमा आउँदैछु । मलाई बरको बोटमा पर्खिनु होला । सँगै जानु पर्छ ।’

हामी मौन ओरालो लाग्यौँ । देउसी टोली बरबोटमा झ¥यो । मइनटोलको उज्यालो पछ्याउँदै हामी पनि देउसे टोलीको पछि लाग्यौँ । राति मारुनी नाच हेर्ने र उतैतिर बास बसेर भोलिपट बिहानै बराहपोखरी डाँडामा सूर्योदयको दृश्य हेर्न जाने योजनामुताविक हामी साँझमा आरुखर्क निस्किएका थियौँ । त्यतिञ्जेलसम्म ईश्वरबहादुरको अवस्था ठीकै थियो ।

केही घण्टापछि नै उनको मृत्यु भयो भन्ने समाचार सुन्नु पर्दा हामीलाई विश्वास नै भएन । तथापि विश्वस्त सूत्रले समाचार सम्प्रेषण गरेको थियो । उता जमुनाले पनि समाचारको पुष्टि गरेपछि त झन् हामी स्तब्ध नहुने कुरै थिएन ।

हामी मौन र स्तब्ध भएर बस्यौँ । मादले मादल घन्काइरहेका थिए । मारुनी नाचिरहेकै थिए । नाचमा रमितेहरूको भीड लागेको थियो । हाम्रो मन भने थिरमा थिएन । उता मादले गीतको भाका हालिरहेका थिए—

बिहानीपखको झुल्किँदो घाम हा है सुरिलो रूखैमा
हिजोको जस्तो लालज्योति छैन नहेर मुखैमा…

ईश्वरबहादुरको मृत्युको समाचार सनसनीपूर्ण भएर चैतको डढेलोसरी सर्वत्र फैलिइसकेको रहेछ । धनकुटा, धरान, मोरङ, काठमाडौँ सर्वत्र । निकै रात बितेपछि लखतरान भएर जमुना आइपुगिन् । हामी तीन जना भएर गाउँ झ¥यौँ ।

जमुनाले पछिल्लो जानकारी पाइछन्, बूढाको थोरै प्राण त बाँकी नै छ रे ! हामी ईश्वरबहादुरको बाँकी प्राण भेट्न भनेर हतार–हतार गाउँ झ¥यौँ र उनको घरमा पुग्यौँ । हामी पुग्दा मरे भनिएका ईश्वरबहादुर ‘हँ….हँ….हँ….’ गरिरहेका थिए ।

मरे भनिएका ईश्वरबहादुरलाई ‘हँ…हँंं….हँ….’ गरिरहेको भेटेपछि हामी चकित प¥यौँ । कसरी यस्तो भयो ? भएको के रहेछ भने, तीनतले महेन्द्रकी जहानले बूढाको नाडी छाम्दा चिसो पाइछन् । बोलाउँदा बूढा बोलेनछन् । उनलाई लागेछ, लौ बूढा त गएछन् । अनि त हल्ला भइहालेछ ।
०००
भाइटीकाको दिन बुहारीसँग ईश्वरबहादुरको झगडा परेछ । हल्का दिमागी समस्या भएकी बुहारीले बूढालाई लडाएर छातीमा चढी–चढी मरणासन्न हुने गरी कुटिछन् । हात नै भाँचिदिइछन् । तर, छोराचाहिँ रमिते बनेर हेरिबसेछन्, बूढीले बुवालाई निर्घात कुटेको । घटनाको भोलिपल्ट समाज बस्यो । तर, समस्या समाधानको कुनै उपाय नै निस्केन ।

ईश्वरबहादुरका छोरा ठङ्गेले घटनाप्रति कुनै आत्मग्लानी गरेनन् । गाउँसमाजले घाइते बुवाको औषधि–उपचार गर्नु पर्छ भनी राखेको प्रस्तावलाई पनि स्वीकार गरेनन् ।

उनले एउटा छोराले बाउप्रति आदर र सम्मान प्रकट गर्नुका साथै छोरा हुनुको कर्तव्यबोध नै नगरेपछि र अलिकति पनि मानवीयता नदेखाएपछि समाज बिना निष्कर्ष टुङ्गिएको थियो । लगत्तै ईश्वरबहादुरको मृत्युको (अफवाह) समाचारले भने हामीलाई गम्भीर तुल्यायो ।
त्यस घटनापछि फेरि समाज बस्यो ।

पीडकले पीडितको औषधि–उपचार गर्नु पर्ने र माफ माग्नु पर्ने कुरा उठायो समाजले । तर, पीडकका पति तथा पीडितका छोरा ठङ्गेले कुनै पनि कुरा स्वीकार नै गरेनन् । अन्ततः पुलिस बोलाउने निर्णय ग¥यो समाजले ।

घरमा पुलिस आएपछि बल्ल–बल्ल ठङ्गेले आफ्नी पत्नी (पीडक)को तर्फबाट घाइते (बुवा)को औषधि–उपचार गरिदिने प्रतिबद्धता जनाएपछि घटना मिलापत्र भयो । पुलिस चौकीतिर फर्कियो । तर, घाइते ईश्वरबहादुरले अस्पतालमा आफूलाई पु¥याइसकेपछि औषधि–उपचार गर्न मानेनछन् ।

उनले भनेछन्, ‘म धामी मान्छे, अस्पतालको सुई हान्नु हुँदैन । म आफैँ गर्छु मेरो उपचार ।’
फौजदारी घटनालाई गाउँमै मिलाउन खोज्दा हाम्रो गाउँ–समाज नै झण्डै परिबन्दमा पर्न पुगेको थियो । बुहारीको कुटाइबाट सख्त घाइते बनेका ईश्वरबहादुरको यदि साँच्चै नै मृत्यु भएको भए….!
०००
आज उनै ईश्वरबहादुर राईले यस धरतीबाट साँच्चिकै विदा लिएको पनि एक वर्ष पुग्न लागेछ । मारुनी नाच्ने च्याङ्बाले पनि गत मङ्सिरमै संसार छोड्नुभयो ।

अनि हामीलाई उनको मृत्युको खबर (जो त्यतिबेला असत्य थियो) दिनु हुने भेना (देशबहादुर राई)ले पनि गत असार ६ गते यो संसारबाट विदा लिनुभयो । यसपालि पनि म तिहारमा राजधानीमै रहेँ । गाउँमा पुग्न सकिनँ ।

तथापि राजधानीको रमझमपूर्ण तिहारबीच २०६७ सालमा घटेको त्यो घटनासँगै मेरो कानमा विगतका देउसी नाचहरूमा उनै ईश्वरबहादुरले टिप्ने गरेको मारुनी भाका गुञ्जिरहेको छ —

दुःखै नमानेस् सँगी दुःखै नमानेस्
मरेछौँ भने मरिमा गयौँ
बाँचेछौँ भने आघौँ साल आउँला दुःखै नमानेस्…।

प्रतिक्रिया