वेष्ट इण्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीमा थपिए ४ खेलाडी


 


काठमाडौं, वैशाख १४ । वेष्ट इण्डिज ‘ए’ विरुद्ध टी–२० सिरिज खेल्न लागेको नेपाली टोलीमा थप चार खेलाडी थपिएका छन् ।

टोलीमा विनोद भण्डारी, सागर ढकाल, कमल सिंह ऐरी र लोकेश बमलाई थप गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

विनोद भण्डारी नेपाल ‘ए’का कप्तान हुन् भने सागर पनि नेपाल ‘ए’का सदस्य हुन् । आयरल्याण्ड ‘ए’विरुद्ध भएको सिरिजका क्रममा तीव्र गतिका बलर कमल र ब्याटर लोकेश बमले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

उनीहरू थपिएपछि वेष्ट इण्डिज ‘ए’विरुद्ध सिरिज खेल्ने नेपाली टोलीमा २० क्रिकेटर भएका छन् ।

क्रिकेट संघले बिहीबार १६ सदस्यीय टोली सार्वजनिक गरेको थियो । वेष्टइण्डिज ‘ए’विरुद्ध घरेलु मैदान, कीर्तिपुरमा हुने पाँच म्याचको सिरिजपछि टी–२० विश्वकप खेल्ने अन्तिम टिम तय हुनेछ ।

प्रकाशित मिति: १४ बैशाख २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्