भारतको सहयोगमा चितवनमा बनेको विकास परियोजनाको उद्‌घाटन


 


काठमाडाैं । भारत सरकारको आर्थिक सहयोगमा चितवनको खैरहनीमा निर्माण गरिएको परियोजनाको उद्‌घाटन गरिएको छ ।

‘नेपाल-भारत विकास सहकार्य’अन्तर्गत बनेको उक्त परियोजनाको शुक्रवार खैरहनी नगरपालिकाका मेयर शशीकुमार खनिया र भारतीय राजदूतावास काठमाडौंका प्रथम सचिव अविनाशकुमार सिंहले संयुक्त रूपमा उद्‌घाटन गरेका हुन् ।

भारत सरकारको ३.६७४ करोड रुपयाँ सहयोगमा बनेको उक्त परियोजना उद्‌घाटन कार्यक्रममा जनप्रतिनिधि, सरकारी अधिकारी, परियोजना उपभोक्ता समितिका प्रतिनिधि र समाजसेवी लगायतको उपस्थिति थियो ।

चितवनको खैरहनीस्थित ढुङ्ग्रे खोलामा तटबन्ध र खोलाको बहावलाई नियन्त्रणमा राख्न खोला किनारा वरपर उक्त संरचना निर्माण गरिएको हो ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअनुसार यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको हो । परियोजना चितवनको खैरहनी नगरपालिकामार्फत कार्यान्वयन गरिएको भारतीय दूतावासले जनाएको छ ।​

कार्यक्रममा खैरहनी नगरपालिकाका मेयर र परियोजना उपभोक्ता समितिका प्रतिनिधिले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरेका थिए ।

उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माणले खेतीयोग्य जमिनको कटान, वन फँडानी, अनियन्त्रित खोलाको बहाव, बाढीका कारण स्थानीयले बारम्बार आफ्नो थातथलो छोड्नुपर्ने बाध्यता रोकिने दूतावासको विश्वास छ ।

यसका साथै नदीको गतिसँग सम्बन्धित जोखिम न्यूनीकरण र प्राकृतिक विपद्‌विरुद्ध जुझ्न, पूर्वतयारी गर्न र सहनशील बन्न मद्दत पुग्नेछ ।​

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ । त्यसमध्ये ४८९ वटा परियोजना सम्पन्न भइसकेका छन् ।

यी मध्ये बागमती प्रदेशका विभिन्न क्षेत्रमा १०६ वटा परियोजना रहेका छन् जसमा ९ वटा परियोजना चितवनमा छन् ।

यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिसकेको छ जसमध्ये बागमती प्रदेशलाई २३६ वटा एम्बुलेन्स र ९९ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिएको छ ।

यसमा १७ वटा एम्बुलेन्स र ५ वटा स्कूल बस चितवन जिल्लालाई उपलब्ध गराइएको छ ।

प्रकाशित मिति: १४ बैशाख २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्