Home » विचार/ब्लग » पृथी सर, जसले आत्मविश्वास भरिदिनु भयो

पृथी सर, जसले आत्मविश्वास भरिदिनु भयो

Share on Facebook0Share on Google+0Tweet about this on Twitter1Share on LinkedIn0

अर्जुन राई
इन्टरनेशनल युनिभर्सिटि अफ जापान
ट्युसन पढाउँदै गरेको बेला छेवैको कोठामा केटाकेटीहरु हल्ला गर्न थाले पछि अलिकति स्वर तानेर “हु ईज क्राईङ्ग?” भन्दै उहाँ त्यो कोठा तिर जानु हुन्थ्यो। ढक..ढक..ढक… गर्दै त्यहाँ पुग्नु भए पछि एकै छिन पोल लगाएर केटाकेटीहरु चुपचाप हुन्थे।

उहाँ फेरी आएर उहीँ गहिरो लयमा पढाउन थाल्नु हुन्थ्यो। मलाई सम्झना भए सम्म त्यत्ति बेला उहाँको छोरीहरु र आफन्तहरु घोरेटारको बोर्डिङ स्कुलमा नर्सरी वा एक कक्षा तिर पढ्दै थिए।

स्कुल देखी फर्के पछि उनीहरु बाल स्वभाव अनुसार हल्ला गर्न शुरु गर्थे। यो करिव ०५६ साल तिरको कुरा हुनुपर्छ, यद्यपि अहिले पनि उहाँको त्यो बेग्लै प्रकारको लबज मेरो कानमा गुन्जिरहेको छ। मेरो लागि यो सम्झना किन बिशेष छ भने गाँउ घरमा दाई दिदीहरुको मुखबाट धेरै पटक नाम सुनेको सरलाई घोरेटार पढ्न आएपछि पहिलो पटक नजिकबाट देख्ने, चिन्ने र पढ्ने मौका पाएँको थिएँ।

त्यत्तिबेला अहिलेको घर बनाउनु भएको थिएन जसले गर्दा बजार भित्रै डेरामा बस्नु भएको थियो। हो उहाँ अर्थात पृथी सर आज हाम्रो सामु भौतिक रुपले हुनुहुन्न तर पनि ती क्षणहरु भर्खरै मात्र घटित हुन झैं गरि मस्तिष्कमा  घुमिरहेका छन्।

सन् २०१६ अक्टोबर २८ को बिहानै फेसबुक खोल्ने बित्तिकै अकल्पनिय पोष्ट देखेँ। गाडी दुर्घटनामा परि पृथी सरको निधन श्रीमति सहित अन्य घाइते भन्ने व्यहोरा थियो त्यसमा।  त्यो कठोर सत्यलाई मनले विश्वास गर्न गाह्रो मानिरहेको थियो।

एक एक गरेर विगतमा उहाँले पढाउँदै गर्दाका र त्यस बाहेकका सबै पलहरु मन भरि गुडु्ल्किदै आए। स्कुले शिक्षाको जँघार तर्न बाटो देखाइदिनु भयो जसले गर्दा मलाई आफ्नो शैक्षिक यात्रामा अगाडि बढ्न मद्दत पुगिरहेको छ तर उहाँको अन्तिम घडिमा मसँग उहाँ प्रति चढाउन जम्मा जम्मि समवेदनाका दुई शब्द मात्र थिए।

लेखक

यस्तो अविश्वसनिय दुखद खबर थाहा पाएपछि मैले फेसबुकबाट “पृथीमान सरको दुर्घटनामा परि निधन भएको खबरले अत्यन्त मर्माहत तुल्याएको छ। मलाई पढाउने अहिले सम्मका उत्कृष्ट शिक्षक मध्य एक हुनुहुन्थ्यो। उहाँ प्रति हार्दिक भावपुर्ण श्रदान्जली।“ भनी समवेदना प्रकट गरेको थिएँ। उहाँ प्रतिको यो मेरो भावना दुखद् घडिको भावुकताका शब्द नभएर मेरो हृदयको मूल्याङकन थियो।

अहिले सम्म पढ्दै गर्दा धेरै शिक्षकहरुसँग पढ्ने मौका मिल्यो र यो बीचमा आफु्ले पनि पढाउने अनुभव हासिल गरियो; यी सबैलाई केलाएर हेर्दा पढाउने सवालमा उहाँसँग खास गुणहरु पाएँ जुन उहाँको व्यक्त्तित्वका परिचायक हुन्। तीनै गुणहरुले उहाँ विशेष बन्न पुग्नु भयो र सबैको मनमा सम्मानजनक स्थान पाउनु भयो।

उहाँले आफ्नो उर्जाशील समय शिक्षण पेशामा व्यतित गरेर त्यस प्रतिको निष्ठा कायम राख्नु भयो। लामो यात्रा तय गरेपछि उहाँले जुन योग्यता, अनुभव र विध्यार्थीहरुको विश्वास हासिल गर्नु भएको थियो ती हाम्रा लागि सम्पत्ति थिए। उहाँको असामयिक निधनले सगरमाथा उच्च मावि र हतुवा क्षेत्रको शैक्षिक बिकासमा अपुरणिय क्षति पुर्याएकोछ।

मैले उहाँसँग जम्मा तीन वटा कक्षा लिएको रहेछु। पहिलो पटक ८ कक्षामा पढ्दै गर्दा एसएलसी तयारी गर्दै गरेका दाईहरुको हुलमा मिसिएर अँग्रेजी ग्रामर पढ्न गएको थिएँ। शुरुवातमा मैले जुन घटनाहरुलाई सम्झेको छु त्यो त्यही ट्युशन पढ्दाका स्मृति हुन्। ८ कक्षाको बिदा केहि छिटो हुने भएकोले म अगाडि नै आएर पर्खेर बस्थेँ।

लगभग ४ बजे १० कक्षाको बिदा भए पछि अरु विध्यार्थी र उहाँ आउनु हुन्थ्यो त्यसपछि कक्षा शुरु हुन्थ्यो। त्यत्तिबेला पढ्दा बनाएको नोट मैले धेरै पछि सम्म रिफरेन्सको रुपमा प्रयोग गरेको थिएँ। उहाँ ज्यादै सुन्दर अक्षर लेख्ने अनि विध्यार्थीहरुसँग पनि त्यस्तै अपेक्षा गर्नु हुन्थ्यो। ट्युशन सकिए पछि शुल्क बुझाउने बेला ८ कक्षाको भनेर आधा छुट दिनु भएको थियो।

मेरो लागि त्यो छुट कत्ति अर्थपुर्ण थियो भने छुट पाउँदाको हर्ष सम्झेर अझै  पनि म रोमाञ्चित हुन्छ। ट्युशनले मेरो अँग्रेजीमा सुधार गर्न मद्यत पुर्यायो त्यस पछि कक्षामा अँग्रेजीको होमवर्क सम्म गर्न सक्ने भएँ। त्यसले शिक्षक, साथीभाईहरुमा चिनिन मद्यत  पुग्यो।

किनभने सय भन्दा बढि विध्यार्थी एउटै कोठामा पढ्दा शिक्षकहरुले एक एकलाई ध्यान पुर्याउन सक्ने सम्भावना थिएन। चिनिन थाले पछि तत्काल के फाईदा पुर्यायो भने बालकोनीको बसाई सिफ्ट भएर अलिकति बीच वा अगाडि तिर बस्न पाउने भईयो।

त्यस्तो भाग्य आठ कक्षा पढ्दा कि त मसल्सवालाहरुलाई थियो कि त घोरेटारमा नै ७ पढेकाहरुलाई मात्र थियो। हामी मसल नभएका त्यस माथि अन्य स्कुलबाट त्यहाँ पढ्न आउने फुच्चेका लागि बालकोनी वा त्यस भन्दा तलको सीटको विकल्प थिएन।

यो कहानी किन मैले उल्लेख गर्न चाहेँ भने सबै भन्दा पछाडि बस्नु पर्दा छेकिएर नदेखिने र हल्लाले राम्ररी सुन्दै नसुनिने समस्याले गर्दा पढाई कमजोर हुँदै गइरहेको थियो।

त्यसबाट बाहिर आउन त्यहि अँग्रजीले मद्यत गर्यो यदि त्यो ठूलो हलको बाल्कोनी तिरै रुमलिएको भए कम्तिमा यहाँ सम्म पढ्न आउन सक्ने थिईन होला। त्यो मेरो शैक्षिक यात्राको टर्निङ प्वाईन्ट हो भन्ने लाग्छ मलाई जहाँ मोडिनको लागि मैले पृथी सरसँग लिएको ट्युशनले टेको दियो।

१० कक्षामा पुगे पछि मैले उहाँसँग फेरी अनिवार्य गणितको ट्युसन पढेको थिँए। त्यत्तिबेला साथीहरुको तुलनामा मेरो गणित कमजोर थियो। त्यही महशुस गरे पछि कक्षाको गणित जान्ने साथीहरु प्रकाश, बिकासहरुसँग मिलेर ट्युशन शुरु गरेका थियौँ।

हामीले तुलनात्मक रुपमा निक्कै चाँडो पढ्न थालेका थियौँ त्यसको प्रत्यक्ष फाइदा के भयो भने बिभिन्न बाधाहरुका बावजुद समयमा नै पढाई सकियो। ०५८ मँसिरको राजनीतिक परिवर्तनले हामीलाई पनि असर पुर्यायो।

म लगायत केही साथीहरु विभिन्न अफवाहका कारण केही समय पढ्न नै आएनौँ। केही हामी नआए पछि उहाँले खासै पढाउनु भएको रहेनछ। ट्युशन सकिने बेला सटिक रुपमा उहाँले यो बर्ष आफुले यो ग्रुपसँग आशा राखेको भन्दै शुभकामना दिनु भएको थियो।

उहाँसँगको त्यही पढाईले मलाई गणित प्रति आत्मविश्वास जगाइदियो र एसएलसी दिने बेला सम्म मैले निक्कै सुधार गर्न सकेंको थिएँ। आज पर्यन्त गणित नजाने पनि डर भने त्यस्तो विधि लाग्दैन।

मेरो व्यक्तिगत जीवनका लागि गणित जान्नु वा नजान्नु भन्दा पनि आत्मविश्वास जागृत हुनु ठूलो कुरा हो जस्तो लाग्छ जुन मेरो लागि अर्को ज्यादै महत्वपुर्ण उपलब्धि हो। यसको श्रेय म पृथी सरलाई नै दिन्छु दुई वटा कारणले। पहिलो उहाँको शिक्षण शैली ज्यादै सरल थियो।

मसिना विषयहरु पनि बिस्तारै बुझाईदिनु हुने जसले गर्दा कमजोर पृष्ठभूमिका भएको म जस्तालाई बुझ्न सजिलो हुन्थ्यो। दोश्रो महत्वपुर्ण कुरा उहाँ शुल्क लिने मामिलामा ज्यादै लचक हुनुहुन्थ्यो। उहाँले कहिल्यै पनि पैसा तोकेर माग्नु भएन त्यसले गर्दा म जस्ता धेरै विध्यार्थीले पैसाको कारणले नै ट्युशन पढ्न नपाउने स्थिति रहेन।

स्वः पृथी रार्इ

उहाँको यो गुणको फाइदा घोरेटार पढ्नेले मात्र होइन त्यस क्षेत्रका अन्य स्कुल पढ्ने धेरै विध्यार्थीले पनि लिए भन्ने लाग्छ। चेतनाको स्तर र आर्थिक अभावका कारण छोराछोरीको शिक्षामा लगानी गर्नु धेरै अभिभावकहरुको लागि प्राथमिकताको बिषय अझै पनि हुन सकिरहेको छैन। यस्तो कमजोर सामाजिक, आर्थिक अवस्थाबाट गुज्रिरहेको हाम्रो समाजमा उहाँको यो गुणलाई पनि सम्झनै पर्ने हुन्छ।

तेश्रो १० कक्षामा उहाँले सामाजिक शिक्षा पढाउनु भएको थियो। त्यत्ति बेला करिव १७६ जना थियौ जस्तो लाग्छ त्यो कक्षामा। हामी कक्षाको बीचमा खासखुस गरिरहने विध्यार्थीको ध्यान केन्द्रीत गराउन त्यत्ति सजिलो थिएन ।

विध्यार्थीलाई सजग गराउन चकले बेला बेला हान्ने गर्नु हुन्थ्यो। त्यस्तै एकदिन म पनि गफ गर्दै रहेछु चकले लागे पछि झस्किएँ। पछि हेर्दा टोपीमा चकको दाग लागेको रहेछ।

यसरी अनेक उपाय लगाएर हजारौँ विध्यार्थीलाई पार लगाउनु भयो। १० कक्षाको अन्तिम दिन केही लामो शुभकामना दिनु भएको थियो। निकै मर्मस्पर्शी शब्दहरुले दिनु भएको त्यो शुभकामनाको अन्तिममा पुस्तक नबोली पढाउने गुरु हो भन्ने भनाई उधृत गर्दै हामी शिक्षकले पढाउने काम यहीँ टुङ्गिए पनि अब बाँकी हामी भन्दा धेरै ज्ञानको भण्डार भएको पु्स्तकको सहारा लिन नभुल्नु भन्नु भएको थियो।

शाब्दिक छनौट र सान्दर्भिकता मिलाएर दिनु भएको शुभकामना मस्तिष्क झँकृत गर्ने खालका थिए। ती शब्दहरु आज करिव १६ बर्ष पछाडि पनि मेरो कानमा उस्तै गरि गुन्जिरहेका छन्; त्यसको सम्झनाले मात्र आज पनि उर्जाशिल भएको महशुस हुन्छ।

त्यो भावनात्मक अभिव्यक्तिलाई सम्झदाँ त्यो केवल विध्यार्थीहरुलाई दिनु भएको बिदाई शुभकामना मात्र थिएन बरु त्यस भित्र उहाँको जीवन दर्शन लुकेको छ जस्तो लाग्छ। किनभने उहाँले अधिकाँश ज्ञान स्वध्ययनबाट नै हासिल गर्नु भएको हो भन्ने मेरो बुझाइ छ।

“ज्याक अफ अल मास्टर अफ नन” उहाँले अनौपचारिक भेटघाटमा कहिलेकाँही यो भनाई उल्लेख गर्नु हुन्थ्यो। यो भनाई जुन सन्दर्भमा प्रयोग गर्नुहुन्थ्यो त्यो भने आफुलाई इङ्गित गरेर गर्नु हुन्थ्यो। यद्यपि भनाईको अन्तर्यमा के थियो म भन्न सक्दिन आफ्नो व्यक्तिगत मूल्याङकन वा म जस्ता आलाकाँचा विध्यार्थीलाई चारैतिर हात नहाल्न दिनु भएको साँकेतिक सुझाव। उहाँमा प्रतिभाको ज्यादै फराकिलो दायरा थियो।

अँग्रेजी, गणित बिषयको शिक्षक होइन तर ती बिषयमा ट्युशन पढ्न चाहनेको भीड लाग्थ्यो उहाँकोमा। बाद्यवादनको कतै क्लास लिनु भयो जस्तो लाग्दैन तर धेरै बाजा सुमधुर बजाउनु हुन्थ्यो। लेखनकलाको औपचारिक रुपमा सिक्ने त कल्पना बाहिरको कुरा हो हाम्रो जस्तो ठाँउमा तर सुन्दर लेखनमा पोख्त हुनुहुन्थ्यो।

पढाईमा उहाँ कक्षा प्रथम हुनुहुन्थ्यो रे यी सबै प्रतिभाहरु एकै जनाले पाउने मौका कमैलाई मिल्छ। मैले थाहा नपाएका उहाँका अरु कत्ति प्रतिभा थिए होला ती सबै आर्जित भन्दा पनि अन्तरनिहित क्षमता थिए भन्ने नै मलाई लाग्छ।

पढाईमा तुलनात्मक रुपमा ध्यान नदिने र अक्षर राम्रा नहुने विध्य्यार्थीहरुलाई कक्षामा कडा शब्दबाण हान्न माहिर हुनुहुन्थ्यो जुन विध्यार्थीको हितमा थियो। माथि उल्लेखित भनाईका सन्दर्भमा उहाँमा सबै कुरा पर्फेक्ट हुनु पर्छ भन्ने कतै भित्रै देखि आशक्ति थियो कि भन्ने अनुमान म गर्छु।

२०६६ सालको भदौ तिर घोरेटारमा कराते प्रतियोगिता भएको थियो। त्यो प्रतियोगितामा जिल्ला खेलकुद बिकास समितिका दाईहरुसँगको चिनजानका कारण मैले पनि केही व्यवस्थापकिय पाटोमा सघाएको थिएँ।

त्यस मध्ये शिल्डहरुमा प्रतियोगिताको नाम र तह लेख्नको लागि मैले पृथी सरकोमा लिएर गएको थिएँ। ती सबैमा बढो मेहनतका साथ सुन्दर अक्षरले उहाँले व्यहोरा लेख्नु भयो तर मैले त्यस बापत के कत्ति शुल्क दिन पर्ने हो वा होईन सोध्नै भुलेछु। कार्यक्रम सकिएको निकै समय पछाडि मैले सम्झेको थिएँ तर त्यत्तिबेला कुरा उप्काउन सान्दर्भिक लागेन।

यसमा आफैलाई अप्ठ्यारो महशुस भयो। यो प्रसङ्ग मैले किन उल्लेख गर्न जरुरी सम्झेँ भने हाम्रो भेगका अधिकाँश सार्वजनिक स्थानमा लेखिएका ती सुन्दर अक्षर पृथी सरका नै हुन्।

ती सुन्दर सिर्जनाहरु अझै केही बर्ष सम्म अवश्य पनि हाम्रा सामु रहने नै छन्। तर उहाँको सिर्जनाको हामीले कत्ति कदर गर्न सक्यौँ? फरक छलफलको बिषय होला। उहाँले मलाई यत्ति शुल्क चाहिन्छ त्यस पछि मात्र काम गर्छु भनेर कहिल्यै भन्नु भएन त्यसकारण आर्थिक रुपले सक्षमहरुबाट पनि पसिनाको उचित मुल्य कतै पाउनु पो भएन कि भन्ने लाग्छ।

यो केवल पैसाको मात्र कुरा नभएर सिर्जना प्रतिको सम्मान पनि हो साथै सर्जकहरुलाई हामीले कत्ति प्रोत्साहन गर्छौ उनीहरुको जीवनलाई सहज बनाउन कत्ति सहयोग गरिरहेका छौ भन्ने पनि हो।

उहाँसँग विध्यार्थीको रुपमा बाहेक पनि बेला बेला भेट भएको थियो। स्कुल गेट भित्र कडा मिजासको लाग्ने उहाँ अनौपचारिक भेटघाटमा भने साह्रै रसिक हुनुहुन्थ्यो।

मैले शान्ति निमावि सोयामा पढाउँदा मेरा क्लासमेट प्रकाश राईसँगै बसेर बेला बेला गफगाफ गर्ने अवसर जुरेको थियो। त्यस्तो बेला राईहरुको विवाह सँस्कार, मुन्धुममा भएका कुराहरु बडो रमाइलो पारामा अर्थ केलाउँदै सुनाउनु हुन्थ्यो।

त्यस बाहेक उहाँले हतुवाली समाजलाई बहुआयामिक रुपमा मिहित ढङ्गले बुझ्नु भएको थियो। युवाहरुमा व्याप्त विकृतिहरु प्रति व्यङग्यात्मक प्रहार गर्ने शैली थियो। यस भेकका विध्यार्थीहरुले व्यहोर्ने आर्थिक कठिनाईलाई ज्यादै गहिराइमा थम्याउनु भएको थियो।

यदि उहाँको हृदयको गहिराईमा त्यस्तो अनुभूति नहुँदो हो त हृदय त्यत्ति धेरै उदार हुने थिएन होला। ट्युशन पढ्न चाहनेको ताँती लाग्ने गर्थ्यो तर पनि ट्युशन पढाउने कामलाई उहाँले पैसाको श्रोत कहिल्यै बनाउनु भएन। योग्य र अनुभवी भएर पनि आफ्नो पेशागत धर्म निभाउने बाहेक दम्भ देखाउनु भएन।

जत्ति सक्नु भयो आफ्नो ठाँउमा पेशागत उत्कृष्टता देखाउनु भयो यो नै उहाँको महानता हो। उहाँको प्रतिभा, क्षमतालाई सम्झँदा उल्लेखित पक्षहरुलाई बिर्सन हुँदैन।

२०७१ को तिहार मनाएर धरान जाने क्रममा पात्लेपानी पोखरी पुग्नु भन्दा अगाडि खुक्लाबाट निस्कने र सिलासुत्केरी तिरबाट आउने दोबाटोको चौतारीमा हाम्रो भेट भएको थियो। उहाँ परिवारका सबै सदस्य सहित छोरा छोरीलाई पु्र्याउन हिँड्नु भएको रहेछ।

त्यहाँबाट सिम्ले सम्म सँगै जाँदा धेरै बिषयमा कुराकानी गरेका थियौँ। उहाँले आफ्नो स्नातकोत्तरको अध्ययनलाई गति दिन नसकेको र त्यसले करियरमा पार्ने प्रभावका बारेमा केही अनुमानहरु सुनाउनु भएको थियो।

म सरकारी सेवामा प्रवेश गरेकोमा ज्यादै हर्षित हुनुहुन्थ्यो साथै थप प्रगतिका लागि शुभकामना दिनु भएको थियो। त्यो भेट नै उहाँसँग अन्तिम हुन लेखिएको रहेछ। अब ती सबै स्मृतिका पानामा मात्र सिमित हुन पुगे।

यो धर्तीबाट बिदा लिइसक्नु भए पनि पेशा प्रतिको लगाव, प्रतिबद्ता र बाह्य जीवनमा सरलता मेरा लागि उहाँको  मुख्य अनुकरणिय गुणहरु हुन्। अन्त्यमा तीनै गुणलाई अँगाल्न सक्नु नै एक जना शिष्यको तर्फबाट उहाँ प्रतिको सच्चा श्रद्दा हुनेछ भन्ने मेरो विश्वास छ।

(श्री सगरमाथा उच्च मावि घोरेटारका पुर्व शिक्षक स्वर्गीय पृथीमान राईको पहिलो बार्षिकिको अवसरमा प्रकाशोन्मुख स्मृति ग्रन्थबाट )

र, यो पनि पढ्नुहोस्

अलबिदा पृथीमान सर !

Share on Facebook0Share on Google+0Tweet about this on Twitter1Share on LinkedIn0

प्रतिक्रिया