एकैदिन ह्वात्तै घट्यो सुनको मूल्य
काठमाडौं, साउन २८
सुनको मूल्य लगातार उकालो लागिरहेको बेला आज भने ह्वात्तै घटेको छ । आज सुन तोलामा ६ हजार २ सय रुपैयाँ घटेर तोलाको ९५ हजार ४ सय रुपैयाँमा झरेको छ ।
सुन हिजो तोलाको एक लाख एक हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य एकैदिन यति धेरै घटेको यो पहिलो घटना हो । अन्तर्राष्ट्रिय बजारमा नै भाउ घटेपछि नेपालमा पनि सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य पनि आज तोलामा २ सय २५ रुपैयाँ घटेर तोलाको एक हजार २ सय १० रुपैयाँमा झरेको छ। चाँदी हिजो प्रतितोला एक हजार चार सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: २८ श्रावण २०७७, बुधबार