हातहतियार र मृगको मासुसहित चारजना पक्राउ
काठमाडौं, असार ३ । धादिङको ज्वालामुखी गाउँपालिकाबाट भरुवा बन्दुक र मृगको मासुसहित चार जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको टोलीले गाउँपालिकाको वडा नम्बर ४ धौखोलाबाट चारजनालाई पक्राउ गरेको हो ।
भरुवा बन्दुक तीननाल, खुकुरी एकथान र करिब चार किलोग्राम मृगको मासुसहित सोही ठाउँ बस्ने ६० वर्षीय पदम सिलवालसहित चारजनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
धादिङकै नेत्रावती गाउँपालिका–२, कमरेनमाथि माथिलो गुम्बास्थित जगंलबाट बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक एकनाल बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
प्रकाशित मिति: ३ असार २०८०, आइतबार