अाज यस्तो मन्त्रिपरिषद विस्तार हुँदैछ


 


काठमाडौं, कार्तिक १

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। एमाओवादीले मन्त्रीका लागि भइरहेको मुख्य विवाद सल्टाएपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।

‘सभामुखको शपथपछि आइतबार केही मन्त्री समेटेर मन्त्रिपरिषद् विस्तार हुन सक्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। तर, कसलाई समेट्ने भन्ने अन्तिम टुंगो शनिबारसम्म लागिसकेको छैन।

एमाओवादीबाट सचिव टोपबहादुर रायमाझीले सरकारमा नेतृत्व गर्ने भएका छन्। अधिकांश स्थायी समिति सदस्य रायमाझीको पक्षमा उभिएपछि महासचिव कृष्णबहादुर महरालाई उपप्रधानमन्त्री बनाउने तयारीमा रहेका अध्यक्ष पुष्पकमल दाहाल पछि हटेका हुन्।

रायमाझीले उपप्रधानमन्त्रीसहित पर्यटन, शक्ति बस्नेतले गृह र अग्नि सापकोटाले शिक्षा मन्त्रालय सम्हाल्ने टुंगो लागेको दाहालका स्वकीय सचिव चूडामणि खड्काले जानकारी दिए। तर, सापकोटाले गृहको दाबी छाडेका छैनन्।

एमाओवादीबाट यसअघि नै हरिबोल गजुरेलले कृषि मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्। बाँकी ४ मन्त्रालयमा कसलाई पठाउने र राज्यमन्त्री को–को हुने भन्ने विषय आइतबार बिहानसम्म टुंगो लाग्ने उनले बताए।

‘आइतबार बिहानसम्म अध्यक्षले सबै मन्त्रीको सूची प्रधानमन्त्रीलाई बुझाउनुहुन्छ र दिउँसोसम्म सबैले शपथ लिनेछन्,’ उनले भने। एमाओवादीले गजुरेल, रायमाझी, बस्नेत र सापकोटाबाहेक राम कार्की, रेखा शर्मा, शिव मण्डल, उमेश यादव, सुरेन्द्र जयसवाल, गौरीशंकर चौधरी र सन्तकुमार थारूमध्येबाट बाँकी मन्त्री र राज्यमन्त्री छनोट गर्ने तयारी गरेको छ।

एमालेमा मन्त्रीको अन्तिम टुंगो लागेको छैन। उपाध्यक्ष भीम रावल र उपमहासचिव विष्णु पौडेलको नाम चर्चामा रहे पनि उनीहरूलाई दिने मन्त्रालयमा कुरा मिलेको छैन।

मापदण्ड बनाएर मात्र मन्त्री छनोट गर्नुपर्ने सुझाव पार्टी स्थायी समितिमा नेताहरूले दिएका छन्। कुरा मिले एमालेका पनि केही मन्त्री र राज्यमन्त्री आइतबार थपिने सम्भावना छ।

प्रकाशित मिति: १ कार्तिक २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्