बाढीपीडितको घरमा सर्प र लामखुट्टेको बिगबिगी
विराटनगर, साउन ४
पाँच दिनसम्म बाढीको चपेटामा परेर विस्थापित मोरङका बाढीपीडित घर फर्कदा सर्प र लामखुट्टेबाट प्रभावित बनेका छन् । अहिले बाढी प्रभावित बस्तीमा सर्प र लामखुट्टेको बिगविगी छ ।
विराटनगर महानगरपालिका भित्रका बाढी प्रभावित क्षेत्रमा बेलुका सर्प निस्कन थाले पछि स्थानीय त्रसित छन् । त्यस्तै लामखुट्टेको संख्या बढेकोले रोग फैलने संभावना बढेको विराटनगर १२ का स्थानिय सरेश रिसिदेव बताउनुहुन्छ ।
बाढीको बेला घरमा पानी पसेको थियो, अहिले त भित्र पस्न समेत डर लाग्छ, दैनिक घरभित्र गोमन सर्प भेटिन्छ, टोकेर ज्यान लिन्छकी भन्ने त्रास फैलिएको छ,’ उहाँले भन्नुभयो । सो वडामा अहिले बेलुका हुनसाथ सडकमा विषालु सर्पहरु देखिने गरेको स्थानीय बताउँछन् । सर्पबाट युवालाई भन्दा पनि बालबालिका र बृद्धबृद्धालाई जोगाउन मुस्किल भएको विराटनगर १२ सुकुम्बासी टोलका स्थानिय सुखमण्डी देविले बताउनुभयो ।
प्रकाशित मिति: ४ श्रावण २०७६, शनिबार