चीनमा कोरोना भाइरसले उग्र रुप लिदैँ, मृतकको संख्या १ सय ६ पुग्यो


 


काठमाडौं ,माघ १४
चीनमा कोरोना भाइरसका कारण नयाँ तथ्याङअनुसार ज्यान गुमाउनेको संख्या १ सय ६ पुगेको छ । भाइरसका कारण ४ हजार भन्दा बढी संक्रमित भएको चिनीयाँ अधिकारीहरुले जनाएका छन् । दुई हप्ता अघि चीनको वुहानबाट फैलिएको भाइरसका कारण यसलाई थप शहरमा फैलिन नदिन यातायात आवागमनमा थप कडाइ गरिएको छ । वुहान शहर र त्यो शहर रहेको हुबे प्रान्तको अधिकांश स्थान बन्द जस्तै रहेको छ । विश्वभर फैलिएको यो सक्रंमणले अलिहे महामारीका रुपमा लिने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

सङ्क्रमणको प्रकोप चीनका कम्तीमा २५ प्रान्तमा फैलिएको छ भने कम्तीमा १८ शहरमा निकै डरलाग्दो तरिकाले फैलिएकाले ती सहरहरुमा यातायातका साधन सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ । ती क्षेत्रमा विभिन्न किसीमले सतर्कता अपनाइएको चीन सरकारले जनाएको छ । सरकारले देशभर हुने उडान, रेल सेवा र अन्य सवारीका साधनहरुको आवतजावतमा निगरानी बढाएको र उच्च सतर्कताका अपनाउन आह्वान गरेको छ ।

मानिसको बढी आवतजावत हुने विमानस्थल, बसपार्क, रेल स्टेसन लगायतमा स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको छ भने जङ्गली जनावर र पशु ओसार पसार तथा उपभोगमा कडाई गर्न निर्देशन दिइएको छ । सङ्क्रमणले अमेरिका, जापान, दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा छोइसकेको बताइन्छ । कोरोना भाइरस युरोपमा पनि फैलिन थालेको छ । फ्रान्समा तीन जनामा कोरोना भाइरस देखिएको पुष्टि भएको छ ।

यस सङ्क्रमणबाट मृत्युको घटना चीनमा मात्रै भएको छ भने त्रास संक्रमित हुनेहरु अन्य देशमा पनि भएकाले विश्वभरी नै त्रास फैलिएको छ । चिनियाँ अधिकारीले कोरोना भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि गरिसकेका छन् । यो भाइरस सङ्क्रमण भएपछि खासगरी श्वासप्रश्वाससम्बन्धी समस्या देखिने चिकित्सकहरुको भनाई छ ।

उनीहरुका अनुसार ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुने यस सङ्क्रमणपछिका लक्षण हुन् । यस भाइरसको सङ्क्रमणपछि शरीरमा अक्सिजनको मात्रा कम हुँदै जाने पनि अर्को एक समस्या हो । यसैबीच, संयुक्तराज्य अमेरिकाले मध्यचीनमा घातक भाइरसको केन्द्रमा फसेका अमेरिकी कर्मचारी र नागरिकलाई उद्धार गर्न विशेष विमान सेवा शुरु गर्न लागेको जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले उहानस्थित आफ्ना कन्सुलर कार्यालयमा कार्यरत कर्मचारी र अरु अमेरिकीलाई उद्धार गर्न चीनको उहानतर्फ अमेरिकी विमान मङ्गलबार प्रस्थान गर्ने बताएको छ ।

प्रकाशित मिति: १४ माघ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्