पुजारीकै घरबाटै चोरी भयो चार सय वर्ष पूरानो महादेवको मूर्ति


 



साँखु, माघ १४
शङ्खरापुर नगरपालिकाको साँखुबाट पुराजीको घरमा राखिएको चार सय वर्ष पूरानो ज्योतिलिङ्गेश्वर महादेवको मूर्ति चोरी भएको छ ।

साल्खा महादेवस्थानको नामले चिनिने सुनको जलप लगाएको तामाको प्रतिमूर्ति साँखुका मूल पुरोहित सुदनराज राजोपाध्यायको घरबाट मंगलबारराति चोरी भएको हो । भूकम्पले मूर्ति राख्ने घर भत्किएपछि पूजारीकै घरमा मूर्ति राख्ने गरिएको थियो ।

हरेक वर्ष जनैपूर्णिमाको जात्रामा पूजा गरिने अन्दाजी २.५ फिटको चारमुखी ज्योतिलिङ्गेश्वर महादेवको मूर्ति चोरी भएको पूजारी सुदनराज राजोपाध्यायले जानकारी दिए ।

पूजारीको काका नाता पर्ने आनन्दराज राजोपाध्याय राति शौचालय जान खोज्दा घरको ढोकामा बाहिरबाट चुकुल लगाएको पाएपछि उनी झ्यालबाट निस्किएका थिए ।

मूर्ति राखिएको कोठाको ढोका खुल्ला देखिएपछि गएर हेर्दा चोरी भएको थाहा पाएको राजोपाध्यायले बताए । उनका अनुसार घरको पर्खालमा रहेको गमला फुटेको र पर्खाल नजिकै मूर्तिमा रहेको महादेवको नाग भेटिएकाले घरको पर्खाल चढेर मूर्ति चोरेको हुनसक्ने आशङ्का रहेको छ ।

मूर्ति राखिएको पूजारीको घरमा व्रतालुसमेत बस्ने गरेकाले व्रतालुलाई आवतजावतमा समस्या नहोस् भनी मूलद्वारमा तालासमेत लगाउने गरेको थिएन ।

घटनाको खबर प्राप्त भएलगत्तै प्रहरी परिचालन गरेको महानगरीय प्रहरी प्रभाग साँखुले जानकारी दिएको छ । ज्योतिलिङ्गेश्वर महादेव ६४ लिङ्गेश्वरमध्ये ३४औँ लिङ्गेश्वरका नाममा चिनिन्छ ।

यस ठाउँमा माधवनारायण (ज्योतिलिङ्गेश्वर) महादेवको व्रत बस्ने व्रतालु शिवरात्रिका दिन जाग्राम बस्दछन् । उक्त दिन जाग्राम बसेपछि मात्रै माधवनारायण व्रतका क्रममा आफूले इच्छाएको पूरा हुने जनविश्वास छ ।

प्रकाशित मिति: १४ माघ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्