भाडादर लागू नगर्ने सवारीसाधनलाई कारबाही गरिने, अनुगमनमा खटिए प्रहरीका ४० युनिट


 


काठमाडौं, माघ १६
ट्राफिक प्रहरीले सरकारी भाडादर लागू नगर्ने सार्वजनिक सेवाका सवारीसाधनलाई कारबाही गर्ने भएको छ । पहिलो चरणमा उपत्यकाभित्र चल्ने सार्वजनिक सेवाका सवारीसाधनमा अनुगमन गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अनुगमनका लागि ४० युनिट परिचान भइसकेका छन् । प्रत्येक युनिटले प्रत्येक दिन कम्तीमा १० वटा गाडी अनुगमन गर्ने महाशाखाको योजना छ । एकै दिन चार सयवटा गाडीमा भाडादर लागू भए/नभएको सूचना संकलन हुनेछ । भाडादर लागू नभएका सवारीसाधनलाई ट्राफिक प्रहरीले तत्कालन पाँच सयदेखि १५ सय रुपैयाँसम्म कारबाही गर्नेछ ।

महाशाखा प्रमुख एसएसपी भीम ढकालले उपत्यकाभित्र चल्ने सार्वजनिक सेवाका सवारीसाधनमा भाडासम्बन्धी गुनासो धेरै आउने गरेकाले नियन्त्रणका लागि अभियान चालिएको बताए । उनले भने, ‘उपत्यकाभित्र चल्ने भाडाका सवारीसाधनमा भाडासम्बन्धी धेरै गुनासो आए । प्रारम्भिक रूपमा अध्ययन गर्दा कतिपय सवारीसाधनले सरकारी भाडादर लागू नगरेको पाइयो । यसलाई रोक्न हामीले सरोकारवालासँग छलफल गर्‍यौँ । सोही छलफलपछिको निचोडमा भाडा अनुमगन अभियान थाल्यौँ ।’

यातायात व्यवस्था विभागको पछिल्लो तथ्यांकअनुसार बागमती अञ्चलमा भाडाको सवारीसाधन मात्रै ६८ हजार एक ६५ दर्ता भएका छन् । जसमध्ये बस÷ट्रकको संख्या ४८ हजार दुई सय ८२ छ । डोजर/पावर ट्रेलर १३ हजार पाँच सय ५३, टेप्पो/माइक्रो ६ हजार तीन सय ३० र ट्याक्सी करिब १० हजारको संख्यामा दर्ता छन् । जसमध्ये ९० प्रतिशत सवारीसाधन दैनिक चल्ने गर्छन् । तर, सरकारले तोकेको भाडादरअनुसार यात्रुलाई सेवा दिने सवारीसाधन भने निकै कम छन् । महाशाखाका अनुसार पहिलो चरणमा बस, माइक्रो, ट्याक्सी र टेम्पोमा भाडादर कार्यान्वयन अभियान चलाइनेछ । दोषी देखिए कारबाही गरिने प्रहरीले जनाएको छ । महाशाखा प्रमुख एसएसपी ढकालले भने,‘पहिलो चरणमा भाडादर कार्यान्वयन अयिभान बस, माइक्रो, ट्याक्सी र टेम्पोमा लागू गरिनेछ ।

कम्तीमा मासिक ६ करोड ठगी

७ असोज ०७५ देखि उपत्यकाभित्र चल्ने भाडाका सवारीसाधनमा भाडा बढेको छैन । यातायात व्यवस्था विभागको तथ्यांकअनुसार उपत्यकाभित्र चार किमिसम्मको यात्राका लागि १४ रुपैयाँ भाडा तोकिएको छ । सरकारले यसलाई न्यूनतम भाडादर भनेको छ । तर, सार्वजनिक सवारीसाधनले गाडी चढेलगत्तै यात्रुसँग १५ रुपैयाँ भाडा असुल्दै आएका छन् । एकपटकको यात्रामा न्यूनतम एक रुपैयाँ ठगिँदै आएका छन् । यस आधारमा उपत्यकाभित्र चल्ने सार्वजनिक सेवाका सवारीसाधनले मात्रै प्रतिमहिना न्यूनतम ६ करोड रुपैयाँ ठग्ने गरेको प्रहरीको अनुमान छ ।

विभागका अनुसार उपत्यकामा १० हजार तीन सय ठूला गाडी गुड्छन् । मिनिबस नौ हजार पाँच सय गुड्छन् । चक्रपथ क्षेत्रमा सेतो र नीलो गरेर पाँच हजार माइक्रोबस र दुई हजार पाँच सय २८ टेम्पो गुड्छन् । एउटा ठूलो गाडी औसतमा दैनिक चारपटक ओहोर–दोहोर गर्छ । सरदर सिट संख्या २५ मान्दा १० हजार तीन सयवटा ठूला गाडीले दैनिक ४१ हजार दुई सयपटक यात्रा गर्दा १० लाख ३० हजार यात्रुलाई सेवा दिन्छन् ।

एक रुपैयाँका दरले यात्रुबाट असुल्दा उनीहरूले एकै दिन १० लाख ३० हजार रुपैयाँ ठगी गर्छन् । नौ हजार पाँच सय मिनिबस दैनिक सरदर चारपटकसम्म ओहोर–दोहोर गर्छन् । मिनिबस दैनिक ३८ हजारपटक यात्रा गर्छन् । सिट क्षमता सरदर २० मान्दा दैनिक सात लाख ६० हजार यात्रुलाई सेवा दिन्छन् । उनीहरूबाट एक रुपैयाँका दरले बढी भाडा असुल्दा सात लाख ६० हजार रुपैयाँ नै ठगी गर्छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

प्रकाशित मिति: १६ माघ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्