कालापानीबारेको संकल्प प्रस्तावमा छलफल हुँदै


 


काठमाडौं, फागुन २३

कालापानी क्षेत्रलाई नेपालकै कायम गराउने र त्यहाँ रहेका भारतीय सैनिकलाई फिर्ता गराउन नेपाल सरकारले पहलकदमी लिनुपर्ने विषय समेटिएको एउटा संकल्प प्रस्तावमाथि शुक्रबार संसद्‍मा छलफल हुँदैछ।

झण्डै साढे चार महिनाअघि भारतले प्रकाशित गरेको नक्सामा नेपालले आफ्नो दाबी गरेको कालापानी सहितका भूभाग परेपछि त्यसलाई फिर्ता गराउन कूटनीतिक पहल गर्न माग गर्दै उक्त प्रस्ताव प्रतिनिधिसभामा शुक्रबार पेश हुँदैछ।

सत्तारूढ नेकपाका सांसद् तथा पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले दर्ता गराएको उक्त संकल्प प्रस्तावमा कालापानीमा रहेका भारतीय फौज फिर्ता गराउन माग गरिएको छ।

त्यसबाहेक नोभेम्बर महिनाको सुरूमा भारतले आफ्नो नयाँ नक्सा सार्वजनिक गरेसँगै पुनस् सतहमा आएको सीमा विवाद हल गर्न सरकारलाई उक्त प्रस्तावले ध्यानाकर्षण गराउने ठानिएको छ।

नेपालले कालापानी सहितका बाँकी सीमा विवादका बारेमा परराष्ट्रसचिव तहमा वार्ताका लागि भारतलाई अनुरोध गरेपनि त्यसबारे अझै औपचारिक जवाफ पाइनसकेको बताउने गरेको छ।

सो संकल्प प्रस्तावमा दार्चुला जिल्लाको कुटियाङ्दी र लिम्पियाधुरा क्षेत्र समेटिएको नक्सा भारतले सार्वजनिक गरेपछि प्रधानमन्त्री केपी ओलीले आयोजना गरेको सर्वदलीय बैठकले ती भूभाग फर्काउन नेपाल सरकारलाई निर्देशन दिएको सम्झना गरिएको छ।

त्यसमा भनिएको छ, ूसर्वदलीय बैठकबाट नेपालको भूभाग कसैबाट कुनै प्रकारले हडप्ने काम नहोस् भन्ने अडान कायम गरि नेपाल सरकारलाई निर्देशन गरेकाले कूटनीतिक र अन्य पहलकदमी गरि नेपालको भूभाग कायम गर्न र कालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउन आवश्यक भएकालेू प्रस्ताव पेश गर्न लागिएको उल्लेख छ।

नेता अधिकारीले नक्साबारे आएका विवाद सार्वजनिक भएपछि भएको सर्वदलीय सहमति कार्यान्वयन र अनुगमनका लागि आफूले उक्त प्रस्ताव पेश गरेको बताए।

उनले चार महिना अघि नै प्रस्ताव दर्ता गरेको र बल्ल अहिले त्यसले पालो पाएको बताए।

संसद्‍मा उक्त संकल्प प्रस्तावमाथिको छलफलका क्रममा सांसदले उठाएका प्रश्नहरूको जवाफ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दिने संसद सचिवालयले जनाएको छ।

प्रकाशित मिति: २३ फाल्गुन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्