विदेशबाट फर्किनेको जानकारी दिनुस्, पुरस्कार जित्नुस्


 


सोलुखुम्बु, चैत १८

कोरोना भाइरसको सम्भावित जोखिम कम गर्न यहाँ हालसम्म ३४१ श्ययाको क्यारेन्टाइन र ४८ श्ययाको आइसोलेसन कक्ष निर्माण गरिएको छ ।

सबै स्थानीय तहले आफ्नो गाउँपालिकामा क्यारेन्टाइन र आइसोलेसन कक्ष तयार गरेका छन् ।

एक नगरपालिका सहित ८ स्थानीय तह रहेको यस जिल्लामा हाल सम्म दुई जनाको स्वाब परीक्षणको लागि पठाईएको छ भने क्वारेनटाइनमा एक जना पनि राखिएको छैन । वैदेशिक रोजगारीबाट आएकाको एकिन विवरण नभएपनि १४ जनालाई जिल्ला अस्पताल फाप्लुका चिकित्सकको प्रत्यक्ष निगरानीमा सेल्फ होम क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख टेकुनन्द इवा लिम्बुले जानकारी दिनुभयो । उहाँका अनुसार हरेक दिन स्वास्थ्यकर्मीले टेलिफोन गरी स्वास्थ्य अवस्था बुझ्ने काम गरिरहेका छन् । विदेशबाट आउनेको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।

जिल्लाको एक मात्र सोलुदूधकुण्ड नगरपालिकाले तीन वटा ८४ श्यया क्षमताको क्वारेन्टाइन स्थापना गरेको छ । स्वास्थ्य संयोजक चमर मगरका अनुसार जिल्ला अस्पताल फाप्लुमा सात श्ययाको आइसोलेसन कक्ष निर्माण भएको र नगरपालिकसँग १०७ थान पिपिइ र ३ थान गन फर फिवर रहेका छन् । ११ वटा वडा रहेको नगरपालिकाले सोेमबारदेखि बजार क्षेत्रमा किटनासक औषधी छर्किरहेको नगर प्रहरी प्रमुख डिला कार्कीले जानकारी दिनुभयो । नगरपालिकाको दमकलको प्रयोग गरि विभिन्न बजार क्षेत्रमा औषधि छर्केको हो ।

थुलुङ दुधकोशी गाउँपालिकाले प्रत्येक वडामा १५÷१५ श्यया सहितको क्वारेन्टाइन र तीन स्थानमा पाँच श्ययाको आइसोलेसन कक्ष निमार्ण गरेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । बैदेशिक रोजगारीबाट आएका पाँच जनालाई गाउँपालिकाको स्वास्थ्यकर्मीको निगरानीमा सेल्फ होम क्यारेन्टाइनमा राखिएको उहाँले जानकारी दिनुभयो । टोलटोलमा माईकिङ गरेको गाउँपालिकाले बैदेशिक रोजगारीबाट आएकाको बारे जानकारी दिन व्यक्तिलाई रु ५ हजार नगद पुरस्कार दिने घोषणा गरेको छ भने अति विपन्न परिवारलाई खाद्यन्न राहत प्रदान गर्ने निर्णय गरेको छ ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख उद्धब ढुङगनाका अनुसार तीन थान पिपिइ, ३ थान गन फर फिवर र केही औषधि रहेका छन् । नेचासल्यान गाउँपालिकाले १४ श्ययाको क्वारेन्टाइन र १३ श्ययाको आईसोेलेसन कक्ष निर्माण गरेको गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार वैदेशिक रोजगारीबाट आएका तीन जनालाई सेल्फ होम क्यारेन्टाइनमा राखिएको छ भने शंकास्पद बिरामी भेटिएमा तत्काल रेफर गर्नका लागी सवारीसाधन तयारी अबस्थामा राखिएको छ । सो गाउँपालिका १० थान पिपिइ रहेको गाउँपालिकामा अन्य स्वास्थ्य सामाग्री भने प्रयाप्त नभएको स्वास्थ्य शाखाले जनाएको छ ।
जिल्लाको अति विकट क्षेत्रमा रहेको महाकुलुङ्ग गाउँपालिकामा ५ श्ययाको आइसोलेसन र २५ श्ययाको क्वारेन्टाइन तयार गरेको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिनुभयो । क्वारेन्टाइन र आइसोलेसन वाडमा खानेपानी, विद्युत तथा कपडाको व्यवस्था गरिएको उहाँको भनाई छ । वैदेशीक रोजगारीबाट आएका तीन जनालाई सेल्फ होम क्वारेनटाइनमा राखिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक हरि आचार्यले जानकारी दिनुभयो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

प्रकाशित मिति: १८ चैत्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्