विवादमा पत्रकार महासंघ, अध्यक्ष गोविन्द आचार्य किन मौन ? (समाचार टिप्पणी)


 


काठमाडौं, चैत २१
महासचिव रमेश विष्टले आफूखुसी संस्थाको लेटरप्याड दुरुपयोग गरेको घटनाले नेपाल पत्रकार महासंघभित्र गम्भीर मतभेद उत्पन्न भएको छ ।

‘काठमाडौं प्रेस’ नामक अनलाइनको एउटा समाचार डिलिट भएको प्रकरणमा महासचिव विष्टले सोझै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र राजनीतिक सल्लाहकार विष्णु रिमालमाथि आक्षेप लगाएका छन् । मेडिकल सामग्री खरीदमा रिमालका छोरा र उपप्रधानमन्त्री ईश्वर पोखरेलको छोराको संलग्नता रहेको भनिएको समाचार डिलिट प्रकरणको जिम्मेवारी सिरानटेक कम्पनीले लिइसकेको छ । उक्त कम्पनीलाई कानुनी दायरामा ल्याउने काम हुनुपर्ने माग सबैतिरबाट भइरहेको छ । प्रेस स्वतन्त्रताको अभ्यासमा काठमाडौं प्रेसमाथि भएको हमला निन्दनीय भएको भन्दै सर्वत्र आलोचना भइरहेको छ ।
तर, यसको आडमा पत्रकार महासंघका महासचिवले जो कसैमाथि निशाना साँध्ने कदम काम पनि सर्वथा आपत्तिजनक छ । यसले पत्रकार महासंघको छविलाई धमिल्याउने जोखिम उच्च भएको छ ।

पत्रकारहरुको साझा संस्थाको नेतृत्वदायी भूमिकामा रहेका पदाधिकारीले सोझै सूर्य थापा र विष्णु रिमाललाई आरोप लगाएका छन् । काठमाडौं प्रेसले भने विज्ञप्ति जारी गरेर घटनाको छानबिन भइरहेको र कानुनी प्रक्रियामा जाने बताइसकेको छ ।
पीडित संस्था स्वयम्ले नलगाएको आरोप महासचिव विष्टले संस्थाकै लेटरप्याडमार्फत कसरी लगाए ? यो आरोप उनको व्यक्तिगत तहको हो कि संस्थागत ? यथेष्ट प्रमाणसहितको आरोप हो यो ? अब यस्ता प्रश्नको निरुपण महासंघले गर्ने बेला भएको छ ।

यस मामिलामा केही केन्द्रीय सदस्यहरुले सामाजिक सञ्जालमार्फत असहमति जनाएका छन् । तर, अध्यक्ष गोविन्द आचार्य भने आश्चर्यजनक रुपमा मौन छन् ।
महासंघको आधिकारिक धारणा नै यही हो ? अध्यक्ष गोविन्द आचार्यले यसको जवाफ सार्वजनिक रुपमा दिनुपर्छ । यदि महासंघको धारणा यही हो भन्ने अध्यक्षको पनि मत हो भने महासंघ अब दोषी करार गर्दै हिँड्ने अदालतको भूमिकामा उक्लेको सन्देश जानेछ । त्यसको कानुनी र न्यायिक निरुपणको बाटो सम्बद्ध पक्षले अख्तियार गर्ने नै छ । त्यसको संकेत सूर्य थापाले सामाजिक सञ्जालमार्फत दिइसकेका छन् ।
तर, महासचिव विष्टको ठहर व्यक्तिगत हो भने महासंघको लेटरप्याड प्रयोग भएको छ । अध्यक्षसमेतको जानकारी बेगर नै यस्तो कृत्य भएको हो भने विष्टविरुद्ध ‘एक्सन’ मा जाने आँट अध्यक्ष आचार्यले देखाउनुपर्छ । यस्तो आँट देखाउलान् त अध्यक्ष आचार्यले ? उनको नेतृत्व क्षमताको परीक्षण यो प्रकरणमा देखिने निश्चित छ ।

प्रकाशित मिति: २१ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्