महाकालीमा पौडेर नेपाल आएका थिए कञ्चनपुरका संक्रमित


 


काठमाडौं, चैत २२

कञ्चनपुरका पछिल्ला कोरोना संक्रमित व्यक्ति अवैध रुपमा नेपाल आएको खुलेको छ ।

कैलाली र कञ्चनपुरमा कोरोना भाइरस संक्रमित थप ३ जना फेला परेसँगै संक्रमितको संख्या ९ पुगेको बेला अहिले पनि अवैध रुपमा नेपाल भित्रने क्रम रोकिएको छैन ।

पछिल्लो संक्रमणमा देखिएका व्यक्ति विश्वभर कोरोनाको महामारी फैलिएसँगै त्रासले गर्दा नेपाल फर्किने सोच बनाए । कोरोनाको त्रास फैलिएसँगै उनी चैत १३ गते अवैध बाटो हुँदै नेपाल आइपुगे । ती पुरुष पैदल हिँडेर महाकाली नदीको टनकपुर–ब्रह्मदेव क्षेत्रबाट अवैधानिक रुपमा ट्युवबाट नेपाल छिरेका पाइएको छ ।

अवैध बाटोमार्फत नेपाल छिरेको थाहा पाउने बित्तिकै चैत १४ गते ती पुरुषलाई सशस्त्र प्रहरीले पक्राउ गरेको थियो ।

लगत्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटैनास्थित गडाचौकी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

सशस्त्र प्रहरीले त्यसपछि ती पुरुषलाई गड्डाचौकीबाट बेदकोट गाउँपालिका–९ लालपुर गाडीमा हालेर पठाइएको प्रहरीले जनाएको छ ।

सोही दिन राति १० बजे उनीसहित अन्य ९ जनालाई सुन्दरपुरमा रहेको क्वारेन्टाइन घरमा राखेर खाना खुवाएको पाइएको छ । बेदकोट नगरपालिकाले बनाएको त्यही सुन्दरपुर क्वारेन्टाइनमा उनलाई राखिएको थियो ।

अवैध बाटोमार्फत नेपाल आएको खबर थाहा पाउनेबित्तिकै काठमाडौँस्थित छाउनीबाट नेपाली सेनाको मेडिकल टिमले उनको स्वाव परीक्षणका लागि ल्याएको थियो ।

परीक्षणको क्रममा ती पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखियो । स्वास्थ्य मन्त्रालयले आज मात्र ती पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको पुष्टि गरेको हो ।

प्रकाशित मिति: २२ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्