सीमामा उच्च सतर्कता


 


बुटवल, चैत २२

नेपाल–भारत सीमा नजिकै भारतीय गाउँका व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको हल्लाले नेपालको सिमावर्ती क्षेत्रका गाउँमा सजगता अपनाउन थालिएको छ ।

नेपाल–भारत सीमादेखि सात किलो मिटर दूरी भारतको उत्तर प्रदेशस्थित कोल्हुईका छजना व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको समाचारले रुपन्देहीको मर्चवार क्षेत्रका गाउँमा स्थानीयवासीले सीमा क्षेत्रबाट आवागमन पूर्णरुपले बन्द गर्न प्रशासनसँग आग्रह गरेका छन् ।

स्थानीय राजनीतिक दल, सामाजिक सङ्घसंस्था र नागरिक समाजका अगुवाहरुले सामाजिक सन्जालमार्फत सीमावर्ती क्षेत्रमा कोरोना पोजेटिभ देखिएकाले उच्च सतर्कता अपनाउनु जरुरी रहेको बताएका छन् । स्थानीय वैजनाथ साहनीले भन्नुभयो, “कोल्हुईमा छजना सङ्क्रमित भएको खबरअनुसार उच्च सतर्कता जरुरी देखिएको छ ।”

मर्चवारका स्थानीय पत्रकार असलम खानका अनुसार मर्चवारको खैरादेखि करिब सात किलोमिटर दूरीमा रहेको कोल्हुईमा कोरोना सङ्क्रमित पुष्टि भएको खबरले गाउँमा त्रास फैलिएको बताउनुभयो । उहाँले भन्नुभयो– “अहिले पनि दैनिक १५÷२० साइकल तरकारी बेच्न आइरहेका छन् । यसैगरी यताबाट पनि गइरहेका छन् । यसले झनै खतरा बढाएको छ ।”

रुपन्देहीको मर्चवार क्षेत्रको मर्चवारी गाउँपालिकाअन्तर्गतको चन्नी, खैरा, सम्मरीमाई गाउँपालिकाको ठोठरी नाका र कोटही गाउँपालिकाको कदमहवा नाकाबाट साइकलमा भारतीयहरु तरकारी लिएर नेपाल प्रवेश गरिरहेका हुन्छन् । उनीहरुले तरकारी भैरहवा, बुटवल, लुम्बिनीसम्मको टोल टोलमा बिक्री गर्ने गरेका छन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्तले नेपाल–भारत सीमा नजिकै भारतीय गाउँमा कोरोना सङ्क्रमित देखिएको भन्ने सूचनाका आधारमा रुपन्देहीको मर्चवार क्षेत्रका सीमामा आवतजावतमा कडाइ गरिएको बताउनुभयो । उहाँले सीमानाकामा सशस्त्र प्रहरीको थप जनशक्ति व्यवस्थापन गरेर सीमामा कडाइ गरिएको समेत जानकारी दिनुभयो ।

भारतीय पत्रकार आलोक जोशीका अनुसार कोल्हुईको पुलिन्दापुर इलाकाका छजनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । पत्रकार जोशीका अनुसार कोरोना भाइरस सङ्क्रमित व्यक्तिलाई भारतको निचरौलअन्तर्गत मिठौरा सिएचसीमा बनाइएको आइसोलेशनमा राखिएको छ । कोरोना पोजेटिभ देखिएका छजनाकै परिवारका २३ जना सदस्यलाई पनि भारतीय प्रहरीले जिल्ला अस्पतालमा बनाइएको क्वारेन्टाइनमा लगेर राखेको छ ।

भारतीय सञ्चारमाध्यम हिन्दुस्तानका अनुसार कोरोना भाइरस सङ्क्रमित व्यक्तिहरु छजना नै मुस्लिम समुदायका रहेका छन् । उनीहरु केही दिन अगाडि निजामुद्धिनमा मुस्लिम संस्था तबलिगी जमातको हेडक्वार्टर दिल्लीमा आयोजित धार्मिक सभामा सहभागी भई फर्केका थिए । भारतको उत्तर प्रदेश महाराजगञ्ज जिल्लाबाट उक्त भेलामा २१ जना मुस्लिम समुदायका व्यक्ति सहभागी भएका थिए । भारतीय प्रहरीले ती २१ जनालाई प्रहरी नियन्त्रणमा लिई स्वाब परीक्षणका लागि पठाएको भए तापनि छजनामा मात्रै कोरोना पोजेटिभ देखिएको हो ।

प्रकाशित मिति: २२ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्