कोरोनाबाट दुई वर्षीया बालिकाको मृत्यु


 


बाजुरा जेठ १८

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या नेपालमा पनि क्रमश बढ्न थालेको छ । बाजुराकी दुई वर्षीया बालिकाको कोरोना भाइरसको संक्रमणकै कारण मृत्यु भएको पुष्टि भएको छ ।

बूढीगंगा नगरपालिका–१ घर भएका उनी आमाबुबासँगै ८ दिनअघि भारतबाट नेपाल आएकी थिइन्। भारतबाट फर्किने क्रममा बालिकालाई ज्वरो आउने, बान्ता हुने समस्या थियो । नेपाल प्रवेश गरेपछि उनीहरूलाई घुरालसैना माविको क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टिनमा रहँदा सामान्य औषधि गर्दा पनि सञ्चो नभएपछि १५ गते उनलाई जिल्ला अस्पताल बाजुरामा भर्ना गरिएको थियो ।

आइसोलेसनमा उपचार गर्ने क्रममा शनिबार बिहान करिब २ बजेतिर उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुपचन्द्र बिकले बताए । डा बिकका अनुसार अस्पताल ल्याउँदा नै बालिकामा कडा निमोनिया थियो ।

शनिबार बिहान बालिकासँगै आमाबुबाको स्वाब संकलन गरेर धनगढी पठाइएको थियो।

बालिकासँगै उनकी आमाको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले जानकारी दिए । यद्यपि बाबुको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।

प्रकाशित मिति: १८ जेष्ठ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्